April 30, 2025

‘राज्यलाई तिरेको कर जनताकै विकासको लागि’

January 17, 2024
- ADVERTISEMENT -

– बबिलाल तामाङ
भरतपुर । भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले व्यवसायीले तिरेको कर जनताकै विकासका लागि हुने बताए । मन्त्री ज्वालाले ड्राइभिङ स्कुल सङ्घको पाँचाँै महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै सो बताएका हुन् ।
राज्यलाई तिरेको करले सरकार र जनता दुबै संरक्षित हुने बताउँदै यसले राज्य, व्यवसायी र सेवाग्राहीलाई अझ सुमधुर बनाउने उनको भनाइ थियो ।
ड्राइभिङ स्कुलका व्यवसायीले संगठित रुपमै राष्ट्रलाई सहयोग गरेको जिकिर गर्दै यसबाट आफैलाई सहयोग प्राप्त भएको बताए ।
पछिल्लो समय विदेश पलायन हुनेहरुको विकृति बढ्दै गएकोले हरेक नागरिकलाई सिप सिकाउनु पर्ने उनको आग्रह थियो । आफ्नै देशमा बसेर व्यवसाय गर्न सकिने बताउँदै हरेकले सिप सिक्न र सिकाउनु पर्ने जिम्मेवारी वहन गर्दै जानु पर्नेमा सबै लागि पर्ने बेला आएको उनले बताए ।
यसैबीच मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताउँदै शनिबार मात्रै ६ लाख कार्ड ल्याइएको र ६ लाख कार्ड ल्याउने तयारीमा रहेको उनले बताए । १३ लाख कार्ड छपाइपछि स्वतः समस्या हट्दै जाने उनले विश्वास दिलाए ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत ड्राइभिङ स्कुलहरूले रोजगारी सृजनामा थप बल पुगको बताए ।
स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्ने उनको धारणा थियो ।
‘जनताको गुनासो सम्बोधन हुन्छ’
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासोलाई सम्बोधन गरिने बताए । पत्रकार भेटघाटमा उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको निकास खोजिने बताए ।
‘जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ ।’ उनले भने, ‘तत्काललाई अध्ययनको काम रोकिएको छ ।’ जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा मन्त्री ज्वालाले सडक निर्माणका लागि बजेटका कारण समस्या भएको बताए ।
सडक निर्माणका लागि पर्याप्त बजेट नहुँदा आयोजना तीव्र रुपमा अघि बढ्न नसकेको उनको भनाइ थियो ।
उनले भने, ‘रु ३७ अर्ब बजेट घटाइएको छ, बजेट घटेपछि स्वाभाविकरुपमा आयोजना प्रभावित भएका छन् ।’ बजेटको अभाव र निर्माण व्यवसायीको ढिलाइले समेत समस्या भएको उनको भनाइ थियो । यी समस्या समाधान गर्दै अघि बढेको उनले बताए । बजेटका विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्दै देखिएका समस्या समाधान गर्दै मन्त्रालय अघि बढेको उनले बताए ।

- ADVERTISEMENT -