२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

माघे सक्रान्ती पर्व तथा भयँर पूजामा दुई जना सम्मानित

प्रकाशित मिति : २०८० माघ ६ गते
- ADVERTISEMENT -

चितवन / नेपाल इकाइ मगर संघ रत्ननगर–११ मङ्गलपुरको आयोजनामा माघे सक्रान्ती पर्व तथा भयँर पूजा सम्पन्न गरी मनाएको छ । शुक्रबार मनाएको सो पर्वमा संघले दुई जनालाई सम्मान गरेको छ ।
माघे सक्रान्ती पर्व तथा भयँर पूजाको अवसर पारी शुक्रबार सरिना थापामगर र रचना रानामगरलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको संघका अध्यक्ष हर्क सारुमगरले जानकारी दिए ।
अध्यक्ष सारुमगरका अनुसार सरिना थापामगरलाई मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न योगदान दिएको र रचना रानामगरलाई जिल्ला संघले आयोजना गरेको वक्तृत्वकलामा सहभागी जनाएकोमा सम्मान गरिएको हो ।
रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटामार्फत उनीहरुलाई सम्मान गरिएको हो । सम्मानपछि शुभकामना मन्तव्य दिँदै मेयर सापकोटाले आदिवासी जनजाति समुदायको संस्कृतिकै कारण देशको सांस्कृतिक धरातल जीवित रहेको बताए ।
मेयर सापकोटासमक्ष मगर समुदायले मङ्गलपुरमा सभा हल तथा लखन पार्क निर्माण गर्ने योजना सुनाएका थिए ।
उक्त योजनाप्रति मेयर सापकोटाले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो समुदायको लागि सभा हल र लखन पार्क दुवै आवश्यकताको विषय भएको भन्दै यसबारे नगरपालिकाले आवश्यक सहयोग गर्ने बचन दिए । मेयर सापकोटाले के कसरी निर्माण गर्ने भन्ने विषयमा बसेर छलफल गर्न आवश्यक रहेको समेत बताएका छन् ।
नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले मगर समुदायले आफ्नो जातिको संस्कृतिलाई यथावत राख्न सक्नुपर्ने बताए । त्यसका लागि सबै इकाइ समितिले नियमित कार्यक्रम गरेर मगर समुदायलाई जगाइराख्नु पर्ने सुझाव दिए । संस्कृति देशकै मुख्य गहना भएको हुँदा यसको संरक्षणमा हरेकले चासो देखाउनु पर्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -