April 20, 2025

वीर सहिदहरु अमर रहुन …

January 31, 2024
- ADVERTISEMENT -

यतिखेर देशभर सहिद सप्ताह चलिरहेको छ । विशेषगरी विसं २००७ सालको क्रान्तिबाट प्रजातन्त्र स्थापनापश्चात् मनाउन सुरू गरिएको सहिद दिवस माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहका रुपमा मनाइने गरिएको छ । देश र जनताको हित र अधिकारका निम्ति जीवनको आहुति दिने सहिदहरुको स्मरण गर्दै सहिद दिवस मनाइँदै आएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो ज्यानको बलिदान गर्ने महान् वीर सपूतहरुको स्मरणमा यो दिवस मनाइने गरिन्छ । नेपालको इतिहासमा लखन थापालाई पहिलो सहिद मानिएको छ । तत्कालीन समयका पल्टनका लाहुरे लखन थापालाई जंगबहादुर राणाविरुद्ध प्रचारबाजी गरेको आरोपमा विसं १९३३ सालमा गोरखाको मनकामना मन्दिरअगाडि रुखमा झुण्ड्याएर मारिएको इतिहास छ ।
विसं १९९७ मा क्रूर राणाविरोधी अभियानमा लाग्दा हत्या गरिएका चार सहिद (महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द)को सम्मान र स्मृतिमा यो दिवस मनाउनेक्रम जारी छ । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा शिक्षित एवम् जनमत सिर्जना गरेको आरोपमा तत्कालीन शासकले चार सहिदलाई मृत्युदण्डको सजाय दिएको थियो । तत्कालीन परिस्थितिमा ज्यानको आहुति दिने महान् सहिद र उनीहरुका परिवारलाई अझै उचित सम्मान गर्न सकिएको छैन । सहिदका मर्म, भावना र वेदनामाथि विभिन्न कालखण्डमा कुठारघात हुँदै आएका दृष्टान्त छन् । सहिदहरु जसले आफ्नो देशको स्वतन्त्रता र रक्षाका लागि जीवनको बलिदानी दिए, त्यस्ता व्यक्तिहरुको भावना र आकांक्षालाई सदैव स्मरण गर्नुपर्छ । सहिदको सम्मान औपचारिकतामै सीमित हुनु विडम्बनाको कुरा हो । देश र जनताका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएकाहरुका लागि सहिद दिवसमा मात्रै स्मरण गरिनु अन्याय हुनजान्छ ।
हरेक सहिद दिवसमा उनीहरुको स्मरण र योगदानको चर्चा–परिचर्चा गरेर सालिकमा फूल चढाएरमात्रै सच्चा सम्मान हुन सक्दैन । यसका लागि सहिद स्मारक, सहिदका नाममा पुरस्कार, सहिद आवासगृह, सहिद स्मारिका र पुस्तकहरु प्रकाशनजस्ता कार्यहरुलाई पनि निरतरता दिइनुुपर्छ । देश र जनताको हकअधिकारका लागि ज्यानको आहुति दिनेहरुलाई उच्च सम्मान गरी उनीहरुका इच्छा, आकांक्षा र अधुरा सपनाहरुलाई पूरा गर्दै जानुपर्छ । सहिदहरुको रातो रगतले लेखिएका हाम्रो गौरवमय इतिहासलाई विमर्श गर्दै सहिदका परिवारहरुलाई शिक्षादीक्षा, स्वास्थ्य उपचार, रोजगारीलगायतका अवसर प्रदान गरिनुपर्छ । वीर सहिदका विचार र भावनाको कदर गर्न सकेमात्रै उनीहरु युगौँसम्म अमर हुनेछन् । सहिदहरुको मर्म, भावना र उद्देश्यलाई दायित्वबोध गर्दै उनीहरुको सपनालाई साकार पार्नु राज्यको कर्तव्य पनि हो । वीर सहिदहरु अमर रहुन् ।

- ADVERTISEMENT -