–बबिलाल तामाङ
चितवन । पूर्वी चितवनको राप्ती ९, वानग्रुप, क्याम्पामा ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को तयारी तिब्र पारिएको छ । श्री च्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा चितवनमै पहिलो पटक राप्तीका तामाङ समुदायले उक्त महोत्सवको सुरुवात गर्दैछ ।
तामाङ समुदायको संस्कार, संस्कृति र भेषभूषाको जगेर्ना गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक उक्त महोत्सव हुन गइरहेको श्री च्योमदेन दे ढा च्योम गुम्बाका अध्यक्ष तथा महोत्सव संयोजक समेत रहनु भएका देवराज लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार सोनाम ल्होछारको अवसर पारेर सुरु हुने महोत्सव माघ २४ गतेदेखि २७ गतेसम्म चल्नेछ । चार दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
२० वटा स्टल रहने महोत्सवमा विशेष गरी तामाङको खानाका परिकार, पहिलेको पुस्ताले प्रयोग गर्ने घरायसी स्रोत साधन, धर्म संस्कृति अनुसार पाठपूजाको प्रदर्शन हुनेछ भने सँगसँगै अन्य समुदायको खानाको परिकार र भेषभूषाको स्टल राखिने उनले बताए । महोत्सवमा विशेषगरी तामाङ संस्कृति झल्किने डम्फु सेलो, फापरी सेलो, मेन्दो सेलोलाई जोड दिइने उनको भनाइ छ ।
महोत्सवको उद्घाटनमा सबै जातजातिको भेषभूषा झल्किने झाँकीसहितको र्याली ब्रम्हनगर सुरु हुनेछ भने उक्त र्यालीमा सबै समुदायका जातजातिलाई सहभागिताका लागि आयोजकले आग्रह समेत गरेको छ ।
महोत्सवको पहिलो दिन (माघ २४ गते) राष्ट्रिय कलाकार उर्गेन दोङको प्रस्तुति सँगसँगै जितु लोप्चन, विकाश कालदेनको सहभागिता रहने छ । यस्तै माघ २५ गते पछिल्लो पुस्ताले अत्यधिक रुचाइएका एलिना चौहान सँगसँगै स्थानीय कलाकारको प्रस्तुति हुनेछ । माघ २६ गते चर्चित कलाकार ज्योति मगरको बेजोड प्रस्तुति हेर्न पाइने छ ।
महोत्सवको समापनमा नेपालको प्रसिद्ध पुरानो ब्याण्ड ‘द एक्स ब्याण्ड’ को बेजोड प्रस्तुति रहने छ सँगसँगै युवाहरुको ढुकढुकी आसमान लोप्चन र अन्जु तामाङले साथ दिनेछन् ।
गुम्बाका अध्यक्ष लामाले २८६० (डुक/मु ल्हो) सोनाम ल्होछारमा सुरु हुन गइरहेको महोत्सव सफल पार्नका सबैले आ–आफ्नो स्थानबाट सहयोगको अपिल गर्दै अवलोकन गरी दिन आग्रह समेत गरेका छन् ।
यसैबीच राप्ती नगरपालिका उपमेयर देवेन्द्र लामाले लामो समयको अन्तरालपछि जिल्लामै पहिलो पटक राप्तीमा महोत्सवको सुरुवात गर्न सफल भएको बताए ।
गुम्बाको सल्लाहकार समेत रहेका उपमेयर लामाका अनुसार वैदेशिक रोजगारमा रहेका व्यक्तित्वहरुबाट हालसम्म १२ लाख आर्थिक सहयोग जुटेको र अझ पनि जारी रहेको छ भने राप्तीका हरेक घरधुरीले स्वतःस्फूर्तमा सहयोग गरेको छ ।
उनले तामाङ जहाँ भए पनि तामाङले गरेको हरेक गतिविधिमा केन्द्रिकृत हुनु पर्ने बताए । महोत्सव राप्तीको मात्र नभएर समग्र चितवनकै गौरवको विषय भएकोले सबैलाई सहभागिताका लागि उनले आग्रह गरेका छन् । राप्तीमा तामाङ समुदायको बाहुल्यता बढी रहेकोले महोत्सव सफल रहने स्थानीयको आकलन समेत रहेको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवन र नगर इकाई कमिटी मुख्य संरक्षक रहेको महोत्सवको राप्ती नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका संरक्षकमा छन् ।
पछिल्लो समय चितवनका तामाङ समुदायले हरेक गतिविधिहरुमा आफ्नो सक्रियता बढाउँदै लगेको पाइएको छ भने यसअघि माघ १८ गते नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले वृहत शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रम गरेको थियो ।