चितवन / राप्ती ९, वान गु्रपमा जारी ‘प्रथम राप्ती सोनाम ल्होछार सांस्कृतिक उत्सव–२०८० महोत्सव’मा दश हजार बढी दर्शकले अवलोकन गरेका छन् । उक्त महोत्सवमा तेस्रो दिन (माघ २६ गते) दश हजार बढी दर्शकहरुको निकै उत्साहजनक सहभागिता रहेको कार्यक्रम संयोजक देवराज लामाले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय कलाकार ज्योति मगरको प्रस्तुतिले अवलोकन गर्न पुगेका सबैलाई झुमाएका थिए । ‘खोलीभित्र पानी, पानीभित्र जवानी’ भन्दै ज्योति मगर मञ्चमा उफ्रिँदै महोत्सवको रौनक निकै तताएको थियो ।
ज्योतिको छोटो कपडा पहिचान नै बनेको छ । अझ खाली खुट्टा मञ्चमा उफ्रिँदै गाउने र नाच्ने गर्दा रात परेको पत्तै भएन । त्यसपछि ‘तिमलाई टाढा, मलाई नि टाढा’लगायत केही आफ्ना र केही अरूकै चर्चित गीत गाएर मनोरञ्जन दिलाइन् ।
राप्ती नगरपालिका वडा नं.९ वान ग्रुपस्थित क्याम्पामा यही माघ २४ गतेदेखि च्योम देन दे ढा च्योम गुम्बाको आयोजनामा जिल्लामै पहिलोपटक महोत्सव सञ्चालन भइरहेको छ । तामाङ जातिले मनाउने सांस्कृतिक पर्व एवम् नयाँ वर्ष सोनाम ल्होछारलाई परिचित गराउन पनि पहिलोपटक महोत्सव आयोजना गरिएको गुम्बाका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक लामाले बताए ।
महोत्सवमा दिनभर सांस्कृतिक कार्यक्रममार्फत तामाङ समुदायको पहिचानसहितका गीतसंगीत गुञ्जिँदै आएको छ। यसका आलवा महोत्सवमा तामाङ समुदायको संस्कार र संस्कृतिसँग जोडिएका खानपानका परिकारलाई पनि महत्वका साथ राखिएको छ ।
तामाङ जातिको धर्म, संस्कार, संस्कृति र भेषभूषालाई जगेर्ना गर्ने उद्देश्यका साथ प्रवेशद्वारको आडैमा स्वयम्भू स्तुपा, तामाङ जातिको मौलिक एवम् पौराणिक घर तथा तामाङ जातिले प्रयोग गर्ने कृषि औजार, घरायसी सामान तथा बाजागाजालाई समेत प्रदर्शनमा राखिएको छ ।
पछिल्लो पुस्तामा आफ्नै जातिको पहिचानसमेत भुल्दै जाने जोखिम बढ्दै गएपछि यसलाई जगेर्ना गर्नको लागि पनि महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक लामाले बताए। पहिलोपटक महोत्सव आयोजना गरिए पनि सोचेभन्दा बढी दर्शकको उपस्थिति पाएको आयोजकले दाबी गर्दै आएको छ ।
राष्ट्रियस्तरमा चर्चा कमाएका ख्यातिप्राप्त कलाकारहरुमार्फत मनोरञ्जन प्रदान गर्दै आएकोले पनि कार्यक्रम सफल हुँदै गएको आयोजकले जनाएको छ। ल्होछारको मुख्य दिन माघ २७ गते समापनको दिनमा भने प्रसिद्ध एवम् पुरानो ब्याण्ड ‘द एक्स ब्याण्ड’सँगै आसमान लोप्चन, अञ्जु तामाङसहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
शनिबार देशभरका तामाङ समुदायले सोना ल्होछार धुमधामका साथ मनाउँदै छन् । चितवनमा पनि तामाङ समुदायको बसोबास भएको क्षेत्र तथा गुम्बाहरुमा भव्य कार्यक्रम आयोजना गरेर ल्होछार पर्व मनाइँदै छ । बौद्ध परम्पराअनुसार ल्होछारलाई वर्ग परिवर्तन हुने हुँदा नयाँ वर्षको रूपमा समेत लिने गरिन्छ । र, तामाङ समुदायले सोनाम ल्होछारलाई मुख्य पर्वको रूपमा मनाउने प्रचलन छ ।
ल्होछार महोत्सवमा ज्योतिले झुमाए दर्शक, दश हजार बढीको अवलोकन
February 10, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
