April 30, 2025

चितवनमा दुई सयभन्दा बढी कैदीबन्दी घरेलु उद्योगमा आकर्षित

February 14, 2024
- ADVERTISEMENT -

चितवन / जिल्ला कारागार चितवनमा रहेका कैदीबन्दी मध्ये दुई सयभन्दा बढी घरेलु उद्योगमा व्यस्त हुन थालेका छन् । यहाँ विभिन्न किसिमका सीपमूलक काममार्फत उनीहरु उद्योगमा लागेका हुन् ।

विशेषगरी लामो समयसम्मका लागि कैद सजय तोकिएका, घरको आर्थिक अवस्था कमजोर भएका कैदीबन्दी घरेलु उद्योगको काममा आकर्षित भएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए ।
सूचना अधिकारी ढुंगानाका अनुसार बत्ती कात्ने, मुढा बुन्ने, गलौँचाको काम, सिलाइ कटाइ लगायत काममा उनीहरु व्यस्त छन् । कारागार कार्यालयमा रहेका सात सय ५५ कैदीबन्दीमध्ये ८० जनाले बाँसको मुढा बुन्ने, ८० ले गलैँचाको काम गर्ने गरेका उनले बताए ।

सिलाइकटाइमा सात, बत्ती कात्ने २०, खेलाउना बनाउनेमा एक जनाले काम गरिरहेका छन् । आन्तरिक प्रशासनअन्तर्गत विभिन्न काममा कारागारका कैदीबन्दी लाग्ने गरेको उनको भनाइ छ ।

उनले भने, “यहाँ रहेका कैदीबन्दी कुनै न कुनै काममा व्यस्त रहने गरेका छन् ।” गलैँचाको तान ४२ वटा रहेको जानकारी दिँदै उनले यी तानमा काम गर्न इच्छु एक सय २० जनाले रोजगार पाउने गरेको बताए ।

कारागारभित्र काम गरेर कैदीले मासिक रु पाँच हजारदेखि १५ हजारसम्म कमाउने गरेको छ । कारागारभित्र घरेलु उद्योग बाहेक विभिन्न खेलकुदमा कैदीबन्दी सहभागी हुने गरेका छन् । यहाँ उत्पादित सामान जिल्लासहित काठमाडौँ, पोखरालगायत क्षेत्रमा बिक्रीका लागि पुग्ने गरेका छन् ।

कारागारबाट मासिक साधारण खालका चार सय र विशेष खालाका तीन सय मुढा बिक्री हुने गरेका छन् । यस्तै गलैँचा काठमाडौँका उद्योगले खरिद गरिरहेको छ । कारागारमा काममा र खेलकुदमा कैदीबन्दी सहभागी हुँदा फुर्सदको सदुपयोग हुने, नकारात्मक सोचको अन्त्य हुने र आयआर्जनसँगै पछि समाजमा पुनःस्थापना हुन सहज हुने ढुङ्गानाको भनाइ छ ।

कारागारका चौकीदार राम पुडासैनी (नाम थर परिवर्तित) ले काम गर्छु भन्नेले खाली बस्नु नपर्ने बताए । उनका अनुसार विभिन्न सङ्घ संस्थाले यहाँ मनोपरामर्शको तालिम दिने गरेको जानकार दिए । उनले भने, “मनोपरामर्शले यहाँका कैदीबन्दीमा कामप्रति ऊर्जा थपेको छ ।” यहाँ रहेका कैदीबन्दीलाई लक्षित गर्दै बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न सीपमूलक कार्यक्रममा सञ्चालनको तयारी गरिरहेको ढुङ्गानाले बताए ।

कपाल काट्ने, हाउस वायरिङलगायत तालिम दिन लागिएको भन्दै यस्ता तालिमले कैदीबन्दीलाई पुनःस्थापनामा सहयोग पुग्ने उनले बताए ।

- ADVERTISEMENT -