२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

भरतपुर १७ मा दुई डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नम्बर १७ मा दुई वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुबै थरीका बोरिङ्को बिहीबार उद्घाटन गरेकी हुन् ।

यसअघि भरतपुर महानगरपालिकाकाका विभिन्न स्थानहरुमा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । प्रमुख दाहालले सिँचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महशुस गरेको प्रमुख दाहालले बताइन् ।

‘पहिलाको सुख्खाग्रस्त ठाँउमा हाराभरा भएका छन्’, उनले भनिन्, ‘एक बाली हुने ठाँउमा ४ बाली हुन थालेको छ ।, १२ महिनामा भरतपुरलाई सिंचित गर्ने गरी महानगरले काम पनि गरिरहेको उनको भनाइ छ ।

भरतपुरमा भूमिगत सिँचाई, नारायणी लिफ्ट सिँचाई र केरुङगा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालले बताइन् । पश्चिम चितवनका सिँचाईको अभावमा पहिला बाझा रहने खेतहरु अहिले सिँचाईका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरु उत्पादन हुने क्रम सुरु भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै भूमिगत सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाईका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएको जानकारी दिए । सिँचाईको उपभोग गरी वर्षिक ६ लाख रुपैयाँको मैक विक्री गरेर मनग्य आम्दानी गर्ने पश्चिम चितवनका कृषकले रिर्पोटिङ गरेको सो अवसरमा प्रमुख स्याङ्बोले बताए ।

भरतपुरमा प्राकृतिक रुपमा मात्र सिँचाई गरी बाली लगाउने अवस्थाको भने अन्त्य भएको उनको तर्क थियो । भरतपुर १७ का कृषक सन्त चौधरीले धान, मकै, गहुँ उत्पादन हुदै आएको खेतीमा अब भने तरकारी खेती पनि हुने भएकाले उत्साहित भएको बताए ।

भरतपुरमा भएका ट्युबवेलले कुल ६१२० विघा क्षेत्रफलमा सिँचाईका सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत भरतपुरका कृषकले सिँचाई सुविधा लिइरहेका छन् ।

- ADVERTISEMENT -