March 15, 2025
- ADVERTISEMENT -

भरतपुर भ्रमण वर्ष २०८० को तयारी तीब्र

५० हजार सहभागी गराउने लक्ष्य
February 24, 2024

चितवन / भरतपुर महानगरपालिकाले यही फागुन १८ गते हुन गइरहेको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटनको तयारी तीव्र पारेको छ । नारायणी नदी किनारमा उद्घाटन हुने उक्त भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने शनिबार मूल समारोह समितिको बैठकमा नगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
प्रमुख दाहालले सो अवसरमा संघीय सरकारका मन्त्रीहरु, अन्य विशिष्ठ व्यक्तित्वहरु, ७ वटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरिएको बताइन् । समारोहका लागि नारायणी नदि किनारलाई सम्याउने, हरियाली बनाउने काम भएको छ ।
बैठकमा करिव ५० हजार व्यक्ति सहभागी हुने सो समारोहका लागि मञ्च निर्माणको काम भइरहेको भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उद्घाटन समारोहसँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय कलाकारहरु बद्री पंगेनी, राजु परियार, समीक्षा अधिकारी, एलिना चौहान, बिन्दु परियार, रितु कँडेलले साँस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
फागुन १८ गतेको समारोह अघि बिहान ११ बजे भरतपुरका सबै वडाहरुले नेतृत्व गर्दै झाँकी, बाजागाजा, आदिवासी, जनजातिहरुको भेषभुषा सहितको र्याली निकालिने छ । उत्कृष्ट हुने वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ ।
बैठकमा सहभागीहरुले भरतपुर भ्रमण वर्षले भरतपुरसँगै सिङ्गै चितवनको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भएकोले सबै चितवनवासीलाई सहभागी हुन आग्रह गरेका छन् ।
भरतपुरले मुख्य ७ र अन्य गरी २१ वटा गन्तव्यको पहिचान गरि व्यापक प्रचारप्रसार गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, मेघौली, गोलाघाट, जगतपुर, पटिहानी, विसहजार, बाटुलीपोखरी, ज्ञानेश्वर व्लक, नारायणी र राप्ती नदि, धनगढा मन्दिर, राईनो ताल, कविलासगढी लगायत भरतपुरका मुख्य पर्यटकीय गन्तव्यहरु हुन् ।
भरतपुरका सानाठूला होटलमा गरी करिव ७ हजार वेडहरु रहेको होटल व्यवसायीहरुले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -