–बबिलाल तामाङ
चितवन । पञ्चशील महाबौद्ध गुम्बामा फागुन ५ गतेदेखि सुरु भएको कङ्ग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रम सकिएको छ । शनिबार सम्पन्न भएको पाठ वाचनमा विभिन्न धर्मगुरूहरूद्वारा नियमित पाठ वाचन (प्रवचन) चलेको थियो । सो क्रममा अवतारी टुल्कु रिम्पोछे थब्वाङ तेञ्जिङ गुरूङमार्फत वाङ (अभिषेक) ग्रहणसमेत गरिएको थियो ।
सोही अवसरमा ८४ र ६१ वर्ष पुगेका बुबा–आमाको लागि विशेष पूजा गरिएको पाठ वाचन मूल समारोह समितिका संयोजक एवम् गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल गुरूङले जानकारी दिए ।
गुम्बाका प्रमुख वाचक एवम् धर्मगुरू डा. (खेन्पो रिम्पोछे) दशरथ गुरूङका अनुसार २६०० वर्ष पहिले भगवान् गौतमबुद्धले प्रतिपादन गरेको शिक्षा र ज्ञानको पुस्तकलाई नै कङ्ग्युरको रूपमा ग्रहण गरिँदै आएको हो । सोही शिक्षामार्फत शान्ति स्थापना गराउने उद्देश्यका साथ ठाउँठाउँमा त्रिपिटक पाठ वाचन गर्ने गरेको उनले बताए । ज्योतिष पात्रअनुसार उज्यालो समयमा पाठ वाचन कार्यक्रम राखिएको हुँदा अन्य समयको भन्दा यो समयमा पुण्य कमाउने मौका मिलेको उनले बताए ।
‘त्यसकारण बुद्ध धर्मप्रति आस्था राख्ने जो–कसैले यस्तो सुनौलो अवसर गुमाउनु हुँदैन,’ उनले भने, ‘किनकि संसारमा सबैभन्दा ठूलो पुण्य भनेकै दान पुण्य हो ।’ दान पुण्यले हरेक प्राणीको जीवनकालमा सकारात्मक भूमिका खेल्ने हुँदा पुण्य प्राप्तीको लागि दान पुण्य नै सबैभन्दा उत्तम कार्य रहेको उनको भनाइ छ । कङ्ग्युर पाठ वाचन गर्दा विश्व जगतलाई नै शान्तिभूमिको रुपमा स्थापित गराउनमा सहयोग पुग्ने उनले बताए । ‘विश्वमा भइरहेको हिंसा, अपराध, द्वेष भावजस्ता नकारात्मक विषयलाई छलेर सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने ।
कार्यक्रम अवधिभर विभिन्न धर्मगुरूहरुद्वारा नियमित पाठ वाचन गरिएको थियो । गुम्बाका प्रमुख वाचक एवम् पूजा प्रमुख डा. दशरथ गुरूङसहित खेन्पो रिम्पोछे (डा.)हरु रनबहादुर गुरूङ, शीर लामा गुरूङ, सन्तोष गुरूङ, रक्षबहादुर गुरूङलगायतका धर्मगुरूहरुबाट नियमित पाठ वाचन भएको थियो ।
हरेक दिन बिहान ७ देखि साँझ ६ बजेसम्म पूजापाठ भएको हो । दाताहरूलाई सम्मानसँगै वाङ (अभिषेक) एवम् प्रसाद ग्रहणसँगै समापनमा गरिएको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए ।
कङ्ग्युरबाट प्राप्त आम्दानीलाई गुम्बामा निर्मित भवनमा सभा हल निर्माण गर्नमा खर्च गरिने गुम्बा व्यवस्थापन समितिले जनाएको छ । त्यसकारण पुण्य कमाउन चाहनेहरुका लागि गुम्बामा उपस्थित भई धर्मगुरुहरुद्वारा आशीर्वाद प्राप्त गर्न समितिले सार्वजनिक आव्हान गरेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको गुम्बाले हरेक तीन/तीन वर्षमा कङ्ग्युर पाठ वाचन गर्दै आएको छ ।
पञ्चशील गुम्बामा कङ्ग्युर पाठ वाचनको समापन
विभिन्न धर्मगुरूद्वारा प्रवचन
February 25, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
