चितवन / रोटरी क्लब अफ रत्ननगरको आयोजनामा मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । यही फागुन १९ गते रोटरी मिनी म्याराथुन हुन गइरहेको भरतपुरमा बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका पूर्वअध्यक्ष तथा प्रतियोगिताका संयोजक विपीन पोखरेलले प्रतियोगितामा चार जना विदेशीसहित ६०२ जना धावकले प्रतिस्पर्धा गर्ने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल भ्रमण रहेका जर्मनी नागरिक दुई जना र केन्याका नागरिक दुई जना गरी चार जना विदेशी धावकसमेत सहभागी हुनेछन् ।
६०२ जना धावकमध्ये ३६४ जना पुरूष र २३८ जना महिला छन् । प्रतियोगितामा ४८ जना महिलासहित ८९ जना चेपाङ समुदायका युवायुवतीले सहभागिता जनाउँदै छन् । प्रतियोगिता खुल्ला र महिला गरी दुई चरणमा हुनेछ । खुल्लातर्फ नारायणी नदीकिनारबाट रत्ननगरको निपनीसम्म १५ दशमलब चार किलोमिटर र महिलातर्फ टिकौली जंगलको मुख्य भागबाट सुरू भई निपनीसम्म पाँच किलोमिटर दूरी कायम गरिएको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा राष्ट्रिय धावकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरु, सीमान्तकृत चेपाङ समुदायका धावकहरुले प्रतिस्पर्धा गर्ने रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
भरतपुर भ्रमण वर्षलाई प्रवद्र्धन साथै समग्र चितवनको पर्यटन संरक्षण र रोटरीको जनाविश्वास अभिवृद्धि गर्ने उद्देश्यले मिनी म्याराथुन आयोजना गरिएको हो । धावक तथा प्रतियोगीहरुलाई दुवै विधामा पुरस्कृत गरिने छ ।
खुल्लातर्फ प्रथम पुरस्कार १ लाख नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, द्वितीय पुरस्कार ५० हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, तृतीय पुरस्कार २५ हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र, पाँचौँ पुरस्कार पाँच हजार नगदसहित प्रमाणपत्र, छैटौँदेखि दसौँ स्थानसम्म ३ हजारसहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङलाई दुई हजार नगद प्रदान गरिने छ ।
महिलातर्फ प्रथम पुरस्कार २० हजार नगदसहित चाँदीको तक्मा एवं प्रमाणपत्र, द्वितीय पुरस्कार १० हजार नगदसहित चाँदीको तक्मा एवं प्रमाणपत्र, तृतीय पुरस्कार पाँच हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र, चौथो पुरस्कार तीन हजार नगदसहित प्रमाणपत्र, पाँचौँ पुरस्कार दुई हजार पाँच सय नगदसहित प्रमाणपत्र, छैटौँदेखि दसौँ स्थानसम्म दुई हजार नगदसहित प्रमाणपत्र र दूरी पूरा गर्ने चेपाङ महिलालाई एक हजार नगद प्रदान गरिने छ ।
प्रतियोगिताका लागि महालक्ष्मी विकास बैंकबाट टिसर्ट सौजन्यस्वरुप तीन लाख, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले खुल्लातर्फको प्रथम पुरस्कारबापत एक लाख, गुरू ट्राभल्स काठमाडौँबाट एक लाख र अंकुरम पोलिक्लिनिक रत्ननगरबाट महिलालक्षित प्रतियोगिताको प्रथम पुरस्कारबापत २० हजार सहयोग गरेका छन् ।
प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले गर्ने र महिलालक्षित प्रतियोगिताको उद्घाटन रोटरीका गभर्नरबाट हुनेछ भने पुरस्कार वितरण एवं समापन होटल स्टार चितवन रत्ननगरको सभाहलमा रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा हुनेछ ।