April 20, 2025

चितवनमा जनजाति महोत्सवको तयारी तिव्र

मुख्य आकर्षणको केन्द्र आदिवासी जनजाति परिसर
March 6, 2024
- ADVERTISEMENT -

चितवन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनले जिल्लामा गर्न गइरहेको पहिलो पटक १० दिने महोत्सवको तयारी तिव्र पारेको छ । महासंघले यही चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

आदिवासी जनजाति परिसर प्रमुख आकर्षणको केन्द्र बन्ने उक्त महोत्सवमा करिब ४० आदिवासी जनजातिको बसोबास रहेको चितवनमा १८ जाति संगठित भइसकेका छन् ।

महोत्सवस्थलमा संगठित भएका सबै आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने गरी जनजाति परिसर निर्माण गरिने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले जनाएको छ । आदिवासी जनजाति परिसरबाटै आदिवासी जनजातिको सांस्कृतिक पहिचान झल्काउने प्रयास गरिने महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

महोत्सव सञ्चालन गर्ने विषयमा मङ्गलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक दुराले भने, ‘हामीले कति सक्छौँ, आदिवासी जनजातिको सांस्कृतिक घर तथा जातीय पहिचान झल्किने खालको छुट्टै परिसर निर्माण गर्दैछौँ । त्यही नै महोत्सवको मुख्य आकर्षक हुने हामीले विश्वास लिएका छौँ ।’

चितवनका आदिवासी जनजाति समुदायको संस्कृति र पहिचानलाई विश्वव्यापी गराउनको लागि पनि महोत्सव गर्ने तयारी गरिएको उनको भनाइ छ । यसका साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘घुमौं भरतपुर’लाई सार्थक तुल्याउन पनि आदिवासी जनजाति महोत्सव सार्थक हुने आयोजकले दाबी गरेको छ ।

आदिवासी जनजाति समुदायको परिसरसहित करिब तीन सय प्रदर्शनी कक्ष रहने महोत्सव अवधिभरमा चितवनमा बसोबास गर्दै आएका सम्पूर्ण आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसबाहेक हरेक दिन ख्यातिप्राप्त कलाकारहरुमार्फत गीतसंगीतको माध्यमबाट मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।

२०७८ को जनगणनाअनुसार तीन लाख ३२ हजारभन्दा बढी जनसङ्ख्या आदिवासी जनजाति समुदायले ओगटेको छ । तर, महोत्सवमार्फत जातीय पहिचानसँगै समग्र चितवन जिल्लाकै आर्थिक तथा पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको संयोजक दुराले जानकारी दिए । महोत्सव सम्पन्न गर्नका लागि नौरङ्गेस्थित आदिवासी जनजाति महासंघको कार्यालयमा सचिवालय स्थापना गरेर तयारी गरिरहेको आयोजकले जनाएको छ ।

चितवनमा बसोवास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको महासंघका सल्लाहकार एवम् पूर्वअध्यक्ष पदमबहादुर गुरूङले बताए । करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने महोत्सव सम्पन्न गर्न करिब ८० लाख रूपैयाँ खर्च र करिब एक करोड रूपैयाँको हाराहारीमा कारोबार हुने लक्ष्य लिइएको छ ।

- ADVERTISEMENT -