April 25, 2025

धर्मको प्रचार प्रसारमा चितवनका पुराना कलाकार [with video]

दानबाट संकलित रकम सामाजिक काममा लगाइने
March 9, 2024
- ADVERTISEMENT -

चितवन / धर्मको प्रचार प्रसार र जगेर्ना गर्ने उद्देश्यले चितवनका कलाकारहरु एकजुट भएका छन् । नेपाल राष्ट्रिय कलाकार संघ चितवनले महा शिवरात्रीको अवसर पारेर शुक्रबार भरतपुर–१ को गौरेश्वर मन्दिरमा तीन जना कलाकारलाई शिव, पार्वती, महाकालीको रुपधारण गराई प्रस्तुत गरेको छ ।

संसारमा धेरै पापहरु बढ्दै गएकोले धर्मको प्रचार प्रसार जगेर्ना गर्ने हेतुले उक्त कार्य गरिएको संघका उपाध्यक्ष रेनु प्रधानले जानकारी गराइन् । प्रधानले अहिलेको युग कलियुग भएको बताउँदै सबैले पापको बाटो छोडी धर्मकर्मतिर लाग्न आग्रह समेत गरिन् ।

उक्त अवसरमा भगवानका रुप धारण गरेका कलाकारहरु शिव, पार्वती र महाकालीले आ–आफ्नो अभिनय र नृत्य प्रस्तुत गरेका थिए । पहिलो पटक गरिएको यस प्रयासले भक्तजनहरुको सकारात्मक प्रतिक्रिया आएको बताउँदै कलाकारहरुको क्षमतामा पनि निखार आउने उनको विश्वास छ ।

कार्यक्रममा संघले मन्दिर परिसरभित्र आगन्तुक भक्तजनहरुलाई प्रसाद वितरण गरेको थियो । संघद्वारा गरिएको यस धार्मिक कार्यबाट कलाकारहरु उत्साहित देखिएका छन् ।

संघका अध्यक्ष लक्ष्मण नेपालका अनुसार पुराना कलाकारहरु एकै ढिक्का भएर वि.सं. २०७९ सालमा संघ दर्ता भएको हो । संघमा हाल १७० जना सदस्यहरु आवद्ध रहेको अध्यक्ष नेपालले बताए ।

संघको कार्यक्रममा भक्तजनहरुले स्वइच्छाले दान दिएको थियो । दानबाट संकलित रकम गरिब, असहाय तथा विपन्न वर्गहरुमा सहयोग गरिने अध्यक्ष नेपालले बताए । संघले यसअघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

- ADVERTISEMENT -