चितवन / भरतपुर २, क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा ११ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् । बजारमा अवस्थित तीन वटा संस्था सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, फलफूल तथा तरकारी थोक व्यावसायी संघ र कृषि प्रवद्र्धन बजार विकास प्रालिको संयुक्त आयोजनामा उनीहरुले रक्तदान गरेका हुन् ।
सहकारी संस्थाले संस्थाको नियमित वार्षिक कार्यक्रमअनुसार आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी दिए ।
यस्तै सोही अवसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा १०८ जनाले लाभ लिएका छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको हो ।

सहकारी संस्थाका अध्यक्ष थीरप्रसाद धिताल, कृषि प्रवद्र्धन बजार विकास प्रालिका अध्यक्ष शालिकराम घिमिरे र फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मुकुन्दप्रसाद गौतमको संयुक्त सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
भरतपुर २ का वडाअध्यक्ष मनोज रानाभाट प्रमुख अतिथि रहेको कार्यक्रममा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका अतिरिक्त निर्देशक डा मनोहर प्रधान, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतको उपस्थिति थियो ।