April 25, 2025

राष्ट्रियसभा अध्यक्षमा चितवनका नारायण दाहाल आउने निश्चित

March 11, 2024
- ADVERTISEMENT -

चितवन / एकीकृत माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभाका सांसद नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चित भएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका दाहालको पक्षमा स्पष्ट बहुमत देखिएकोले उनी उम्मेदवार बन्ने निश्चित भएको हो ।

उनको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी, समर्थकमा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल र एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद खालिद छन् । भोलि मंगलबार राष्ट्रियसभाको अध्यक्षको लागि निर्वाचन हुने कार्यतालिका छ ।

५९ सदस्यीय राष्ट्रियसभामा सत्ता गठबन्धनको सहज बहुमत छ । राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्तासाझेदार अर्को दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन । यसरी हेर्दा राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।

राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चा एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनित बामदेव गौतमले कता भोट हाल्छन्, खुलाएका छैनन् ।

कृष्णप्रसाद सिटौलाले जित्ने सम्भावना नभएपछि कांग्रेसले सांसद युवराज शर्मालाई उमेदवार बनाएको छ । शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना र समर्थकमा किरणबाबु श्रेष्ठ छन् । यसरी समग्र सांसदहरुको संख्यालाई हेर्दा चितवनका नेता नारायण दाहाल राष्ट्रिय सभाको अध्यक्ष भन्ने निश्चित भएको छ ।

- ADVERTISEMENT -