काठमाडौं / सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा (आज) शुक्रबार कुकर बम विष्फोट भएको छ ।
कुकर बम बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा विष्फोट भएको हो ।
विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईँमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो ।
सिन्धुलीका प्रहरी का प्रवक्ता एवम् डिएसपी चिरञ्जिवी दाहालले घटनाको थप अनुसन्धान भइरहेको र विष्फोट गराउने काममा संलग्नहरुको खोजी जारी भइरहेको जानकारी दिए ।