काठमाडौँ / नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई सोमबार नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो ।
म्याद थपका लागि उनलाई जिल्ला अदालतमा पेश गरिएको थियो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार म्याद थप भएसँगै थप अनुसन्धानका काम अघि बढाइएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई आइतबार नै निर्देशन दिनुभएको थियो ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।
उक्त प्रकरणमा उहाँका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन यसअघि नै पक्राउ परिसकेका छन् ।