March 16, 2025
- ADVERTISEMENT -

सवारी दुर्घटनाको कहर

March 21, 2024

नेपालमा पछिल्लो समय दिनहुँजसो सवारीसाधन दुर्घटनाका खबर सार्वजनिक भइरहेका छन् । दुर्घटना अप्रत्यासितरुपमा हुने भए पनि चालकको लापर्बाहीबाट अनाहकमा पैदलयात्री तथा साइकलयात्रीले ज्यान गुमाउनु परेको छ । सोमबार बागलुङको निसीखोला गाउँपालिका वडा नं–६, जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । बस सडकबाट १५० मिटर तल खसेको थियो । दैनिकरुपमा भएका दुर्घटनालाई मध्यनजर गर्ने हो भने नेपालमा सवारीसाधन दुर्घटना एउटा कहरको रुपमा स्थापित बन्न पुगेको छ । बढ्दो जनघनत्व र त्यही अनुपातमा थपिएका सवारीसाधनको चापसँगै सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको पाइएको छ । केही समययता सडक तथा बाटो सहज बन्दै गए पनि दुर्घटना र मृत्यु हुनेको संख्या घटेको छैन ।

चितवनलगायत देशभर सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षको तथ्याङ्कलाई केलाउने हो भने सो अवधिमा करिब ११ हजार जनाले ज्यान गुमाइसकेका छन् । सरकारी तथ्याङ्कअनुसार हरेक वर्ष दुई हजार ५०० भन्दा बढी जनाको क्षति सवारीसाधन दुर्घटनाबाटै हुने गरेको छ । यो सङ्ख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेभन्दा झन्डै दुई गुणाभन्दा बढी हो । मुलुकभर प्राकृतिक विपत्तिबाट वार्षिक औसत ९०० सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । मानवनिर्मित संयन्त्रबाट हुने सवारीसाधन दुर्घटना प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेभन्दा पनि बढी हुनु आफैँमा भयावह स्थिति हो । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मुलुकभर दस हजारको हाराहारीमा सवारीसधान दुर्घटना भएका छन् । चितवनमा दैनिकजसो दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भइरहेका छन् । देशभर पाँच वर्षयता करिब ४७ हजार सवारीसाधन दुर्घटनामा ३५ हजार दुर्घटना चालकको लापर्बाहीबाटै भएको पाइएको छ । यस्तै, तीव्रगतिका कारण १४ प्रतिशत, यात्रुको गल्ती, ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी र बढी भारका कारण पनि सवारी दुर्घटना बढिरहेका छन् ।

सडक यातायात हाम्रा लागि दिनहुँ जोखिमपूर्ण बन्दै गएका छन् । हरेक वर्ष अनाहकमा दुर्घटनाका कारण ज्यान गुमाउने, अङ्गभङ्ग भएर अपाङ्ग जीवन बाँच्न बाध्य हुनेको सङ्ख्या पनि उत्तिकै बढिरहेको छ । जसका कारण दुर्घटनाका जोखिम न्युनीकरण गर्न पनि चुनौती थपिँदै गएको छ । देशभर बढ्दो दुर्घटनालाई विश्लेषण गर्दा हाम्रा सडक तथा राजमार्गहरू सधैँ असुरक्षित नै रहेको महसुस हुन्छ । दुर्घटनालाई आकस्मिक भवितव्य मानिए पनि यस्तो दुःखद् संयोगका पछाडि केही न केही कारण हुने भएकाले त्यसको खोजी गर्नुपर्छ । दुर्घटनाका जोखिम न्युनीकरण गर्न ट्राफिक प्रहरीले अभियान सञ्चालन गर्दै आए पनि दुर्घटना न्युनीकरण भने हुन सकेको पाइँदैन । दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीको मात्रै दायित्व भएर पुग्दैन । यसका लागि चालक, यात्रु, पैदलयात्री, यातायात व्यवसायीलगायत दुर्घटनासँग सरोकारवाला सबै पक्षले सावधानी अपनाउनै पर्छ । सबैभन्दा बढी दुर्घटनाको कारक मानिएका दुई पाङ्ग्रे सवारीसाधनका चालकले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ । दुर्घटना नियन्त्रण गर्न नसकिए पनि दुर्घटनाको दुष्परिणामबारे सतर्क रहन सकेमात्र
दुःखद् अवस्था टर्न सक्छ । त्यसैले सडक अनुसासन र सावधानी अपनाउनेतर्फ सबैले आआफ्नो क्षेत्रबाट ध्यान दिनु आवश्यक देखिएको छ ।

- ADVERTISEMENT -