काठमाडौँ / रंगहरुको पर्व होली नेपालीहरु मनाउने चाड मध्ये एक हो । सही ढंगले नमनाउँदा ज्यान पनि जान सक्ने कैयन उदारहण छन् ।
यसैबीच ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।
पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ ।