चितवन / चर्चित लोक दोहोरी गायिका ज्योति मगर पछिल्लो समय निकै चर्चित कलाकार हुन् । देशैभर हुने हरेक मेला महोत्सवमा उनको माग बढुदै गएको पाइन्छ । विशेषगरी युवायुवतीको छनौटमा परेकी ज्योति चितवनको हरेक मेला महोत्सवमा आउने गरेको छ ।
नारायणी नदीमा जारी जनजाति महोत्सवमा प्रस्तुति दिनका लागि आज (सोमबार) उनी आउँदै छिन् । महोत्सवमा आउने विषयमा गायिका मगरले पनि आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराइसकेकी छिन् । उनले पायक पर्ने सबैलाई महोत्सव आउन निम्तो समेत गरेकी छन् ।
ज्योति मगरसँगै गायक रवि रिमाल, जादुगर बलराम सरकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरूले मञ्च तताउने भएका छन् । उनीहरूले प्रत्यक्ष दोहोरीमार्फत दिनभर मनोरञ्जन दिलाउने छन् । साथमा आदिवासी जनजाति समुदायको साँस्कृतिक प्रस्तुति रहने महोत्सवका कार्यक्रम संयोजक ईश्वर रानागमरले जानकारी दिए ।