– बबिलाल तामाङ
चितवन । भरतपुर-२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) ले आफ्ना शेयर सदस्यहरुलाई ‘पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना’ प्रशिक्षण दिएको छ । कलेज अफ मेडिकल साइन्सेस भरतपुरको सहजीकरणमा बिहीबार उक्त प्रशिक्षण दिइएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवीय सेवाभावको उद्देश्यले उक्त प्रशिक्षण दिइएको अध्यक्ष धितालको भनाइ छ । उनका अनुसार ९० बढी शेयर सदस्यहरुले प्रशिक्षणमा सहभागिता जनाएका छन् ।
नेफ्स्कुन काठमाडौँका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अधिकारीले महिला स्वास्थ्यसम्बन्धी कार्यक्रमले समाजमा सचेतना र उनीहरु लाभान्वित हुने बताइन् ।
कलेज अफ मेडिकल साइन्सेस भरतपुरका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। बुद्धिकुमार श्रेष्ठले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन् । डा श्रेष्ठले धेरैजना र असुरक्षित यौन सम्पर्कबाट नै पाठेघरको मुखको क्यान्सर प्रमुख कारण भएको बताए । उनले महिलाहरुलाई आफ्नो समस्या नलुकाउन र उपचारका लागि आउनसमेत आग्रह गरे ।

संस्थाका व्यवस्थापक विकास पौडेलले शेयर सदस्यहरुलाई मेडिकल कलेजमा ५० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको जानकारी दिए । मेडिकल कलेजले यसअघि पनि संस्थाले आयोजना गरेको स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
कार्यक्रम इन्दिरा पन्त लामिछानेको संयोजकत्वमा सम्पन्न भएको थियो । संयोजक लामिछाने, अध्यक्ष धिताल र व्यवस्थापक पौडेलले संयुक्तरुपमा डा। श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा चितवन जिल्ला बचत संघ चितवनका सहसचिव रितु गिरी, संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सल्लाहकार भगवती पाण्डे, मेडिकल कलेजका पिआर अफिसर दुर्गा न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।