मकवानपुर / बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नर्स बिना कुनैपनि अस्पतालको परिकल्पना गर्न नसक्ने धारणा राखेका छन् ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबारबाट सुरु भएको ‘चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासिक अवधिसम्मको समिक्षा तथा आगामी आर्थिक वर्ष २०८१÷८२ को तर्जुमा गोष्ठी कार्यक्रमको समापनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
नर्सको महत्व अस्पतालको सेवासुविधासँग जोडिएको विषय भएको भन्दै उनले अस्पताललाई नर्स अपरिहार्य रहेको बताए ।
अस्पताल व्यवस्थापनका विषयमा विशेषज्ञ डाक्टरहरुको मात्रै कुरा उठ्ने र तालिममा पनि नर्सको सहभागिता कम भएको मन्त्री श्रेष्ठको भनाई छ । डाक्टर मात्र भएर अस्पताल व्यवस्थित हन नसक्ने उनले जिकिर गरे ।
सामाजिक न्यायको विस्तार गर्दै डाक्टर र नर्सलाई समान अवसर प्रदान गर्नुपर्ने भन्दै उनले डक्टरहरुले पाएको सुविधा नर्सलाई पनि बाड्न कञ्जुसाई गर्न नहुने बताए ।
आगामी दिनमा बजेट बाँडफाँडको क्रममा उनीहरुलाई नछुटाउन श्रेष्ठले निर्देशन दिए ।
नेपाल सरकारले दिएको सुविधालाई समान रुपमा प्रयोग गर्न र संस्थाको सम्पूर्ण विकासमा समानता हुन आवश्यक भएको उनले बताए । औषधीको प्रयोग गर्दा अनावश्यक खर्च नगर्न चिकित्सकहरुलाई सुझाव दिनुका साथै औषधीको गुणस्तरलाई पनि ध्यान दिन निर्देशन दिए ।
प्राप्त बजेटबाट थोरै कार्यक्रम गर्न सकिए पनि त्यसमा गुणस्तरीयता कायम गर्दै नागरिकले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्नेमा उनको जोड छ । चिकित्सकहरुलाई आफ्नो क्षमता अधिकतम स्वास्थ्य क्षेत्रमा लगाउन र काम गर्ने दौरानमा आर्थिक मुनाफाको पछि नलाग्न उनको निर्देशन छ ।
गोष्ठी कार्यक्रम स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीको अध्यक्षतामा भएको छ । दुई दिनसम्म सञ्चालित कार्यक्रममा विभिन्न अस्पतालका प्रमुखहरुले आफ्ना प्रस्तुतीकरण प्रस्तुत गर्नुका साथै आगामी २०८१÷८२ का लागि रणनीतिक महत्वका योजनाका विषयमा छलफल गरिएको थियो ।