मकवानपुर / झापाका विभिन्न सहकारीमा चोरी गरेको आरोपमा प्रहरीले मकवानपुरका ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न १३ वटा सहकारीबाट ३० लाख १६ हजार रूपैयाँ चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।
विभिन्न मितिमा १३ वटा सहकारीबाट उक्त रकम चोरी गरेका उनीहरूलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा इटहरीबाट पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले उनीहरूलाई दसीका सामानसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूविरुद्ध आइतबार जिल्ला अदालत झापाबाट चोरी कसुरमा पाँच दिनको समय लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।