–बबिलाल तामाङ
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चितवन आउने भएका छन् । अध्यक्ष नेपाल आज (बुधबार) बिहान ९ बजे चितवन आउने नेकपा एस चितवनका प्रचार प्रसार संयोजक विष्णु महतोले जानकारी दिए ।
संयोजक महतोका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनको साधारण सभा तथा अधिवेशनका लागि आउन लागेको हो । उनीसँगै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव गंगा तुलाधर, स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारीलगायतका पार्टीका शिर्षस्थ नेताहरु आउने भएका हुन् ।
नेकपा एसको दुई दिने कार्यक्रम अन्तर्गत आज (बुधबार) देखि साधारण सभा तथा अधिवेशन सुरु हुँदैछ । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने भएको हो ।
नेकपा एसको १०औं जिल्ला कमिटी बैठकले यही वैशाख १९ र २० गते उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रम वीपी मेमोरियल क्यान्सर अस्पतालको सभा हलमा गरिने नेकपा एसले जनाएको छ ।
अधिवेशनले ७ जना पदाधिकारी र ५७ जना जिल्ला कमिटी सदस्यसहित ६४ जनाको कमिटी गठन गर्नेछ । यस्तैगरी सातवटै पालिकालाई समेट्ने गरी ५४ जनालाई मनोनित गरिने छ ।
अधिवेशनको लागि ३०१ जना सदस्य रहने गरी मूल समिति र ७ वटा ७/७ जनाको उपसमितिहरु परिचालित हुने भएका छन् ।
गत चैत्र मसान्तसम्म नवीकरण भएका करिब २ हजार ५ सय संगठित सदस्यहरुबाट चयन गरेर करिव ४ सय जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने छ ।