June 20, 2024

दुधमा २ अर्बको लगानी गर्दै प्रेमबस्ती दुग्ध सहकारी

१० हजारलाई रोजगारी दिइने
May 5, 2024

चितवन / प्रेमबस्ती दुग्ध सहकारीले दुध उद्योगमा दुई अर्ब लगानी गर्ने भएको छ । संस्थाको हालै नयांँ निर्वाचित आनन्द न्यूरेसहितको कार्यसमितिले दुग्ध परिकारमा विविधिकरण गर्ने उद्धेश्यसहित दुई अर्ब लगानी गर्ने योजना बनाएको हो ।

शनिबार भरतपुरमा आयोजित सहकारी दुग्ध किसानहरुसंँगको अन्तरक्रियामा बोल्दै उनीहरुले दूधको विविधिकरणको विकल्प नरहेकोले सहकारीले यो योजना अघि सारेको बताए । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष एवं व्यवसायिक कृषक समाज नेपालका अध्यक्ष न्युरेले सहकारीकै सदस्यको लगानीमा पचासहजार लिटर दूधको प्रशोधन पाउडर प्लाण्ट सञ्चालन गरिने बताए ।

‘हामी किसानले दूध जतिपनि उत्पादन गर्न सक्छौं, न्यूरेले भने, हाम्रा उत्पादनहरुको बजारीकरणको ग्यारेण्टी गरिदिनु पर्यो ।’ उनले आगामी दुई वर्षभित्र एकहजार किसानलाई रोजगारी प्रदान गर्ने गरी माडीमा ४० विघामा घांँसखेती, साइलेज उद्योग , दाना उद्योग, विना ब्याज गाई खरिद , लगायतका योजना रहेको बताए । यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थमन्त्रालय तथा प्रधानमन्त्री कार्यालयसंँग समन्वय गर्ने उनको भनाइ थियो ।

व्यवसायिक कृषक समाजका केन्द्रीय सल्लाहकार नन्दलाल दाहालले प्रेमवस्ती दुग्ध सहकारीको लामो व्यवसायिक इतिहास रहेको बताउंँदै आगामी दुई वर्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १० हजार किसानलाई रोजगारी दिने क्षमता रहेको बताए । यसका लागि सरकारले विदेशिएका युवालाई आकर्षित गर्ने, जग्गा उपलब्धतामा सहजीकरण साथै घांँसका बीउ अनुदान दिनुपर्ने, दाना चोकरका कच्चा पदार्थको मुल्य कम गर्नुपर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराएका थिए ।

समाजका केन्द्रीय सदस्य विष्णु अधिकारीले संस्थाको शेयर सदस्यबाट १ अर्ब पूंँजी संकलन र १ अर्ब ऋण लिएर जिल्लाकै नमुना पाउडर उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसबाट चितवन र नवलपरासीका किसानको संरक्षण हुने बताए ।

सो अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेलले दुग्ध किसानका माग र आवश्यकता जायज रहेको भन्दै प्राथमिकताका आधारमा समस्या समाधान गर्दै जाने बताए । दुग्ध उत्पादनमा विविधिकरण र उद्योगमा आधुनिकिकरण गर्न मन्त्रालय सदैव किसानको पक्षमा रहेको उनको भनाइ थियो ।

किसानलाई राहत, अनुदान तथा उत्पादनको बजारीकरणको लागि पनि मन्त्रालय बढी संवेदनशील भएको उनको भनाइ थियो । उनले चितवनका किसानका लागि सक्दो आर्थिक तथा प्राविधिक सहयोग गर्ने समेत बताए । सहकारीले २५ वर्ष अगाडि स्थापना भएको हो भने सोही समयबाट दूध संकलन गर्दै आएको छ । कार्यक्रम संस्थाका संरक्षक चेतनाथ लम्सालले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -