काठमाडौं / अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ९ जना परेका छन् । काठमाडौं, कैलाली, मोरङ र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्रामसहित आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ बस्ने २६ वर्षीय नजिन थापा मगर रहेका छन् ।
उनलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गा शाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज ००५१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
यस्तै, कैलालीको गोदावरी नगरपालिका–६ बढैयाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २ सय मिलिग्रामसहित प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने २७ वर्षीय जय किशन चौधरी समेत २ जना रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–७ डाँडागाउँबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–७ बस्ने ६३ वर्षीय देव चौधरी र सोही नगरपालिका–७ बस्ने वर्षीय ३८ वर्षीय दुर्गा प्रसाद फुयाललाई आइतबार राति पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा प्र.१–०२–०५३ प ९०३१ नम्बरको मोटरसाइकल मार्फत गाँजा ओसार पसार गरी बिक्रीको लागि ल्याइदिने गरेको भनी खुल्न आएपछि उक्त मोटरसाइकल चालक केरावारी गाउँपालिका–४ बस्ने ३१ वर्षीय सुविन राई समेत २ जनालाई करिब २ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–४ जनमत टोल बस्ने ३२ वर्षीय मनोज थापा समेत २ जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर ८ सय ४० मिलिग्रामसहित उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।