February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोलिदेखि भरतपुर मेयरकप फुटबल सुरु

May 9, 2024

चितवन / भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको तयारी पूरा भएको छ ।

मेयर कपको सह आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले तयारी पुरा भएको जानकारी दिएको हो । मेयर कप फुटबल भोलि (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिताको शुक्रबार भरतपुर ७, कृष्णपुरस्थित मिनी रंगशालामा भव्य कार्यक्रमका बीच उद्घाटन हुँदैछ ।

कृष्णपुरमा अस्थायी प्याराफिट पनि थप गरिएको छ । जेठ १९ गतेसम्म चल्ने प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ ।

सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् ।बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।

लिगको उद्घाटन खेलमा समूह ए का स्टेप बाई स्टेप इङ्ग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी भिड्नेछन् । खेल दिउँसो दिउँसो ४ः३० बजे सुरु हुनेछ । कृष्णपुरसँगै भरतपुर–१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् ।

लोगो अनावरण तथा खेल सामग्री वितरण
भरतपुर मेयर कप फुटबल लिगको लोगो अनावरण गरिएको छ । बुधबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच प्रतियोगिताको लोगो अनावरण गरिएको हो ।

सोही कार्यक्रमकाबीच प्रतियोगितामा सहभागी हुने विद्याल्य तथा प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । मुख्य प्रायोजक संस्था सेन्ट्रल कलेजले महानगरपालिकासँग भएको सम्झौता अनुसार नै खेल सामग्री सहयोग गरेको हो ।

महानगर प्रमुख रेनु दाहाल र सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले संयुक्त रुपमा स्कूलका प्रतिनिधि र प्रशिक्षकलाई खेलकुद सामाग्री हस्तान्तरण गरे ।

यस्तै भरतपुर महानगरपालिका र एफसी चितवनबीच पनि बुधवार सम्झौता भएको छ । एफसी चितवनले लिगमा सहभागी हुने खेलाडीहरुको बीमा गरिदिने सम्झौतामा उल्लेख छ ।

सो मेयर दाहालले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताइन् । खेलाडि उत्पादनका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो । यस्तै उनले आगामी वर्ष भलिवललगायत अन्य खेललाई पनि समेट्ने बताईन् ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो ।

सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गरिरहेको बताए । स्कुलस्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको उनको भनाइ थियो । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनले विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -