–बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिकाले गैर सहकारी संस्थाहरुसँग अन्तक्र्रिया तथा समीक्षात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ । महानगरभित्र रहेका उक्त संस्थाहरुसँग एक वर्षभित्र गरिएका गतिविधि र उपलब्धिका बारेमा बुधबार अन्तक्र्रिया तथा समीक्षात्मक छलफल कार्यक्रम गरेको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सामाजिक र मानवीय विकासले नै समाज रुपान्तर गर्न सकिने बताए । सामाजिक र मानवीय विकास विना पूर्वाधार भौतिक विकासको कुनै अर्थ नरहने उनको भनाइ थियो ।
कार्यक्रममा गैर सहकारी संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख रश्मी पौडेलले संस्था दर्ता एैन, गैससको संवैधानिक व्यवस्था, अपेक्षित उपलब्धिलगायतका विषयमा प्रकाश पारेका थिए ।
सो अवसरमा मानव अधिकार सेवा केन्द्र चितवनका उपाध्यक्ष विनोद ढकाल, एचआईभी एड्स कार्यक्रमकी संचालिका मनु गुरुङ, नेपाल दलित महिला उत्थान समाज केन्द्रका अध्यक्ष बिन्दु परियारले महानगरपालिकाबाट सकारात्मक सहयोग प्राप्त नभएको गुनासो गरेका थिए ।
उनीहरुले समाजमा भएका विसंगति, विकृति यथावतै रहेकोले सामाजिक र मानवीय विकासमा महानगरको ध्यानाकर्षण गराए । संस्था दर्ता, बजेट विनियोजन लगायतको विषयमा निष्पक्ष हुनुपर्ने उनीहरुको माग थियो ।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले छलफलमा उठेका सवालहरु गम्भीर रहेको बताउँदै आगामी दिनमा यसलाई सच्याउँदै लगिने प्रतिबद्धता व्यक्त गरिन् । समाज रुपान्तरणका लागि महानगरसँगसँगै गैर सरकारी संस्थाहरुको भूमिका पनि प्रमुख रहेको उनको जोड थियो ।
कार्यक्रमममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सामान्य प्रशासन महाशाखा प्रमुख उपेन्द्रराज पौडेल, जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
गैर सरकारी संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख पञ्चमाया तामाङले कार्यक्रम संचालन गरेकी हुन् । वार्षिक गरिने अन्तक्र्रिया तथा समीक्षात्मक छलफल कार्यक्रमलाई अबदेखि चौमासिक रुपमा गरिने भएको छ ।