June 20, 2024

महानगरले कृषि तथा पशुक्षेत्रलाई प्राथमिकता दिने

प्रेमवस्ती दुग्ध सहकारीको भवन उद्घाटन
May 17, 2024

चितवन / प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्था भरतपुरको नवनिर्मित भवनको बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उक्त भवनको उद्घाटन गरिन् ।

उद्घाटनपछि बोल्दै मेयर दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै आगामी दिनमा महानगरले कृषि तथा पशुक्षेत्रलाई प्राथमिकता दिने बताइन् । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको उनको भनाइ थियो ।

भरतपुर महानगरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु गरी हाल ३ रुपैयाँ पुर्याएको छ । यसबाट १० हजार कृषक लाभान्वित भएको उहांँले जानकारी दिइन् । भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, भने ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ । ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ । भरतपुर दूधमा अत्मनिर्भर रहेको पुष्टि भएको छ ।

महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गरिन् । उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाइलाई जोड दिइएको छ उनले भनिन् ।

प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताइन् । साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर, हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उनको भनाइ छ ।

कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उहाँको भनाई थियो । उहांँले पशुपालन व्यवसायको बृद्धि गर्न पशु एम्बुलेन्स, ढुवानीका साधन तथा पशु आहाराको लागि महानगरले काम गर्ने बताउनु भयो ।

सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष आनन्द न्यूरेले यस दुग्ध सहकारीलाई देशका नमुना सहकारी बनाउने लक्ष्य लिएको बताए । पशुपालनमा आगामी तीन वर्षभित्र २ अर्बका योजना ल्याउने बताउंँदै अध्यक्ष न्यूरेले १० हजार जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने बताए । पशुपालन व्यवसायलाई थप व्यवस्थित र व्यवसायिक बनाउन महानगरको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म समेत सञ्चालन गर्दै आएको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनाश लगायतले मन्तव्य दिएका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष ईश्वरकुमार श्रेष्ठले स्वागत मन्तव्य दिए भने कार्यक्रम संस्थाका अध्यक्ष आन्नद न्युरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -