२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

एमाले चितवनको ११औं जिल्ला अधिवेशन भोलिदेखि सुरु

अध्यक्षमा चार जना आकांक्षी
प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११औं जिल्ला अधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदैछ । अधिवेशनको मिति नजिकिँदै गर्दा एमाले नेता कार्यकर्तामा अधिवेशनको सरगर्मी बढेको छ ।

जिल्लाका पार्टी नेता कार्यकर्ताले नेतृत्वका लागि दौडधुप बढाएका छन् भने कार्यकर्ता माझ आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन् । चितवनको नेतृत्वका लागि चार जनाले आफ्नो आकांक्षा व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला नेतृत्वका लागि हालका अध्यक्ष रामप्रसाद न्यौपाने पुनः पार्टी अध्यक्षमा दोहोरिने सोचमा छन् । जिल्ला उपाध्यक्ष कमलराज पाठक, नेताहरु कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन् । यस्तै उपाध्यक्ष, सचिव र उपसचिवमा पनि एक दर्जन बढी आकांक्षी रहेका छन् ।

नेकपाद्वारा आयोजित बिहीबारको पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले नयाँ नेतृत्व सहमतिका आधारमा चयन हुने र हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने बताए । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशन जेठ १४ गतेसम्म चल्नेछ । अधिवेशनमा जिल्लाका सात पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति, अध्यक्ष न्यौपानेको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति, सचिव प्रकाश खनाल शैलेशको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ ।

अधिवेशनको अवसरमा १२ गते बिहान अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ११औं जिल्ला अधिवेशनका प्रमुख निर्वाचन अधिकृत पिपीएल उपमहासचिव एवम् बागमती प्रदेश प्रमुख जगन्नाथ भण्डारीले अधिवेशनलाई लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गर्ने गरी काम गरिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -