चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा आइतबार राति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार अन्दाजी १७ वर्षीय एक पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको पहिचान नखुलेको बताइएको छ ।
इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा पहिचान नखुलेका १८ जनाको उपचार भइरहेको छ भने चितवन मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको प्रवक्ता रिजालले जानकारी दिए । घाइतेहरु मध्ये आठ जनाको अवस्था गम्भीर रहेको र १४ जनाको अवस्था मध्यम रहेको बताइएको छ ।
उक्त दुर्घटना चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा राति १२ः३० बजेको समयमा तीन वटा यात्रुबहाक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बससँग विपरित दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबाहक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडि ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।
त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबाहक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थिए ।