January 15, 2025
- ADVERTISEMENT -

चार संसदीय समितिको बैठक आज बस्ने

May 31, 2024

काठमाडौं / संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज (शुक्रबार) बस्ने गरी आह्वान गरिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आह्वान गरिएको हो ।

जसअनुसार, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्ने गरी आह्वान गरिएको छ । सो बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजे बस्ने गरी बोलाएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, आजै बिहान साढे १० बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्नेछ । बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपायहरू तथा सगरमाथा क्षेत्रमा देखिएका समस्या,चुनौती र अवसरबारे छलफल हुने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -