चितवन / भरतपुर २, क्षेत्रपुर अवस्थित फलफूल तथा तरकारी थोक व्यवसायी संघको २३औं साधारण सभा तथा नवौं अधिवेशनको पहिलो सत्र समापन भएको छ ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले दियो प्रज्वलन गरी बुधबार उद्घाटन गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका घिमिरेले २०५२ सालमा स्थापित यो संघ देशकै नमूना बजार भएको बताए ।
निजी क्षेत्रको लगानीबाट बजार स्थापना गर्नु निकै चुनौतिपूर्ण रहेको बताउँदै अझ बढी परिस्कृत गर्दै टेक्नोलोजीहरु विस्तार गर्दै लैजान उनको सुझाव थियो ।
कृषकको उत्पादनलाई करमुक्त र देशैभर ढुवानी सहजताको लागि पहल भइरहेको उनको भनाइ थियो ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मुकुन्दप्रसाद गौतमले संघको विगतदेखि वर्तमानसम्मको अवस्थामा प्रकाश पारेका थिए ।
कार्यक्रममा अध्यक्ष गौतमले विभिन्न समयमा संस्थालाई पु¥याएको योगदानको उच्च मूल्याकंन गर्दै व्यवसायीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो स्वरुप डायरी र पेन दिइएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडासदस्य बलराम सिटौला, उद्योग वाणिज्य संघ चितवनका चिरञ्जिवी सुवेदी, संघकै तृतीय उपाध्यक्ष एवम् वस्तुगत समितिका संयोजक नारायण प्रधान, फलफूल तथा तरकारी थोक व्यवसायी संघका पूर्व अध्यक्ष रामचन्द्र वंशी ठकुरीलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मुकुन्दप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष जयराम पाण्डेले स्वागत मन्तव्य तथा महासचिव दिक्पाल लामाले संचालन गरेका हुन् ।
अधिवेशनले आजै नयाँ कार्य समिति चयन गर्नेछ भने नयाँ कार्यसमिति सर्वसम्मत नै गरिने प्रयास भइरहेको बताइएको छ ।