चितवन / वैदेशिक शिक्षा र रोजगारीको उद्देश्यले पछिल्लो समय विदेशिने संख्या ह्वात्तै बढेको छ । चितवनको भरतपुर महानगरपालिकामा बैदेशिक रोजगारीमा जानेको संख्या तीब्र गतिमा बढेको पाइएको छ ।
बैदेशिक रोजगारीमा गएको तथ्याङक अनुसार भरतपुर महानगरपालिकाका ९६ हजार ५ सय ९१ घरधुरी मध्ये ३४ हजार पाँच सय ८ घरधुरीका व्यक्ति विदेशिएको छ ।
प्रतिशतका आधारमा भरतपुरका ३५.७२ प्रतिशत घरधुरी रोजगारीमा छन् । हालसम्म महानगरपालिकाबाट ४१ हजार ७ सय ८६ जना वैदेशिक रोजगारीमा गएका छन् ।
सुरक्षित आप्रबासन (सामी) कार्यक्रमले दिएको जानकारी अनुसार अहिलेपनि महानगरपालिकाबाट ३० हजार ५ सय ५५ जना अहिलेपनि बैदेशिक रोजगारीमा छन । बैदेशिक रोजगारीमा जानेमध्ये अष्ट्रेलिया सबैभन्दा धेरैको आकर्षकको गन्तव्य बनेको छ ।
सामी कार्यक्रम हेल्भेटासकी संयोजक उमा पौडेलका अनुसार खाडी मुलुकभन्दा अष्ट्रेलिया, जापान, युरोप, अमेरिका जाने कामदारहरुको संख्या बढ्दै गएको छ । बैदेशिक रोजगारीमा जाने मुलुक ३४ भन्दा बढी छन् । अष्ट्रेलियामा भरतपुरबाट ५ हजार ५ सय ७३ जना अष्ट्रेलिया गएको उनले बताइन् ।
त्यस्तै जापानमा ४ हजार २ सय ४८, युएइमा ४ हजार १ सय २६,साउदी अरब २ हजार ५ सय ७, कतारमा २ हजार ४ सय ७९, अमेरिकामा १ हजार ९ सय २०, भारतमा १ हजार ४ सय ९०,मलेसियामा १ हजार १ सय ८ जना गएका छन् ।
भरतपुर महानगरपालिकाका २९ वडा मध्ये सबैभन्दा धेरै ४ र ११ नम्वर बाट धेरै बिदेश गएका छन् । वडा नम्वर ४ बाट २ हजार ६ सय ३१ जना, वडा नम्वर ११ बाट २ हजार १९ जना,वडा नम्बर १६ बाट १ हजार ७ सय ३६ जना बिदेश गएको तथ्याङमा उल्लेख छ ।
यी मुलुकहरुबाट भरतपुर महानगरपालिकामा ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढि रेमिट्यान्स भित्रिएको संयोजक पौडेलले जानकारी दिइन् । रेमिट्यान्स बढी भित्रनेमा अष्ट्रेलिया, जापान तथा खाडी मुलुकहरु रहेका छन् ।
युरोप,अमेरिका लगायतका देशबाट रेमिट्यान्स न्यून भित्रिएको सामी परियोजनाले जनाएको छ । रेमिट्यान्सबाट आएको रकममध्ये अधिकांस ऋण तिर्नमा उपयोग हुने गरेको छ ।