July 20, 2024

माडी नगरपालिकामा बेथिति, कर्मचारीको खाजा खर्च १८ लाख बढी

June 15, 2024
Photo : narayani online

चितवन / माडी नगरपालिकाको बेरुजु आकाशिँदै गएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९÷२०८०सम्म आईपुग्दा माडीको बेरुजु ४३ करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९÷२०८० मात्रै २ करोड ६८ लाख ८८ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की लगायतको शिर्षकमा देखिएको छ । गत आर्थिक बर्षको बेरुजु रकममध्ये ७२ लाख ८४ हजार असूल गर्नुपर्ने देखिन्छ । असूल गर्नुपर्ने रकममा कर्मचारी र जनप्रतिनिधिकै धेरै छ । १३ लाख २८ हजार रुपैयाँ बराबरको बेरुजुको प्रमाण कागजात पेस गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ ।

नगरपालिकाका पदाधिकारी तथा कर्मचारीले सरकारी रकमको दुरुपयोग गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न समेत उठाएको छ । पालिकाको पैसाबाट कर्मचारीलाई जुत्ता खरिददेखि खाना र खाजा उपलब्ध गराउनेसम्मको काममा मानोमानी खर्च गरेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

नगरपालिकाले कर्मचारीको खाना र खाजा खर्चसमेत व्यहोर्ने गरेको छ । स्थायी तथा करारका कर्मचारीलाई नगरपालिकाले खाजा र खाना खर्चमा १८ लाख ७२ हजार रुपैयाँ उपलब्ध गराएको छ । ‘माडी नगरपालिकाले स्थायी तथा करारका कर्मचारीलाई अतिरिक्त समय कार्य गरे बापत प्रतिकर्मचारी मासिक ६ हजारका दरले यस वर्ष १८ लाख ७२ हजार भुक्तानी गरेको छ । अतिरिक्त समय कार्य गरे बापत प्रोत्साहन भत्ता भुक्तानी गरे पश्चात दोहोरो पर्ने गरी पुनः खाना÷खाजा खर्च बापत भुक्तानी गरेको रकम असूल गर्नुपर्ने छ,–प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगरपालिकाले व्यक्तिगत खर्चमा समेत आर्थिक अपचलन गरेको खुलेको छ । सरकारी सम्पत्तिको दुरुपयोग गरी नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि १६ थान स्पोर्टस् जुत्ता खरिद गरिएको उल्लेख छ । १६ थान जुत्ताका लागि नगरपालिकाले प्रतिजुत्ता ४ हजार एघार रुपैयाँ खर्च गरेको छ । जयश्री शिवम् सप्लार्यससँग जुत्ता खरिद गरिएको हो । यस कार्यलाई महालेखाले अनियमिता भएको ठहराएको छ ।

स्वास्थ्यका विभिन्न कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले नियम विपरित भत्ता लिएको महालेखाले औँल्याएको छ । जसमा १५ पटकको भ्रमण भत्तामा १२ लाख ८२ हजार ५ सय अनियमितता भएको उल्लेख छ । अनियमितता भएको रकम मेयर, उपमेयरदेखि कर्मचारीसम्मको नामै किटान गरिएको छ ।

नगरपालिकाले असूल गर्नुपर्ने बेरुजु रकम सबैभन्दा धेरै कर्मचारीका नाममा पनि छन् । जसमा कर्मचारीलाई दोहोरो सुविधा र भत्ता दिइएको उल्लेख छ । ती मध्ये करकट्टा समेत नगरी दिइएको १९ लाख, १२ हजार ५ सय ८३ रुपियाँ, करार कर्मचारीलाई १० हजार मात्रै वार्षिक पोशाक भत्ता उपलब्ध गराउनुपर्नेमा महंगी भत्ता भनेर दिइएको ८ लाख ४० हजार रुपैयाँ उपलब्ध गराइएको महालेखाले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -