July 20, 2024

ज्ञानज्योतिको नयाँ भवन निर्माण गर्ने योजना

June 19, 2024

चितवन / वि.सं. २०३८ असोज २५ गते स्थापना भएको ज्ञानज्योति पुस्तकालयले सुविधासम्पन्न पुस्तकालय बनाउन भवन निर्माण गर्ने योजना अघि सारेको छ । संस्था स्थापना भएको चार दशकपछि समितिले आधुनिक एवम् प्रविधियुक्त पुस्तकालयको परिकल्पना गरी भवन निर्माण गर्ने योजना अघि सारेको हो । भरतपुर–४, धर्मचोकमा रहेको पुस्तकालयको शनिबार सम्पन्न योजना तर्जुमा गोष्ठीका क्रममा वर्तमान कार्यसमितिले नयाँ भवन निर्माणको लागि गृहकार्य भइरहेको जानकारी गराएको हो ।

पुस्तकालयका अध्यक्ष गोविन्दराज खरेलका अनुसार लिफ्ट र अन्डरग्राउण्ड पार्किङसहितको चारतले सुविधासम्पन्न भवन निर्माणको गुरूयोजना तयार भइरहेको छ । गुरूयोजनाअनुसार भुइँतलामा मिनी लाइब्रेरीसहितको क्याफे तथा सत्सङ्क कक्ष, पहिलो तलामा इलाइब्रेरीसहितको सुविधासम्पन्न पुस्तकालय, दोस्रो तलामा साहित्यिक गोष्ठीलगायतका कार्यक्रमको लागिसमेत उपयुक्त हुने गरी सुविधासम्पन्न वाचनालय र तेस्रो तलामा मौलिक एवम् ऐतिहासिक तथा साँस्कृतिक पहिचान झल्किने गरी बैठक कक्ष निर्माण गर्ने लक्ष्य लिइएको अध्यक्ष खरेलले जानकारी दिए ।

आफ्नै भवन नभएका गैरनाफामूलक स्थानीय संस्थाहरूको लागिसमेत उक्त भवन प्रयोगमा आउने उनको भनाइ छ । स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्न स्थानीय कृषकलाई समेत स्थान उपलब्ध गराउने योजना रहेको पुस्तकालय समितिले जनाएको छ । हाल साढे दश धुर जमिनमा पुस्तकालय सञ्चालनमा छ ।

गजल विधाको लागि पुरस्कार स्थापना
पुस्तकालयको शनिबार सम्पन्न गोष्ठीका क्रममा वर्तमान सचिव विनोद अनुजले गजल विधाको लागि पुरस्कार गरेका छन् । संस्थाको विधागत पुरस्कार स्थापना गर्ने योजनाअनुसार स्वर्गीय हजुरबुबा हीरालाल सापकोटा र स्वर्गीय हजुरामा रमादेवी सापकोटाको नाममा ‘रमादेवी–हीरालाल स्मृति पुरस्कार’ घोषणा गरेका हुन् । वर्षेनि नगद १५ हजार राशिको पुरस्कार दिनेगरी पुरस्कार स्थापना गरिएको सचिव अनुजले जानकारी दिए ।

स्वर्गीय हीरालाल सोही पुस्तकालयका संस्थापक अध्यक्षसमेत हुन् । पुस्तकालयमा नयाँ कार्यसमिति आएपछि संस्थालाई चलायमान बनाउन र उपस्थिति बलियो बनाउनका लागि विभिन्न खालका कार्यक्रम गर्दै जाने लक्ष्य लिइएको उनले बताए ।

शनिबार आयोजित योजना तर्जुमाबाट संस्थाको स्थापना दिवसमा संस्थापक तथा संस्था स्थापनाको लागि सहयोग गर्ने व्यक्तिलाई सम्मान गर्ने, विद्यालयस्तरीय हाजिरीजवाफ एवम् चित्रकलाजस्ता प्रतियोगीता आयोजना गर्ने, विभिन्न खेल खेलाउनेलगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कार्यसमितिले हरेक शनिबार बालबालिकाहरूका लागि कविता गोष्ठी तथा पुस्तक अध्ययन अभियान सञ्चालन गर्ने, देशका परिचित साहित्यकारहरूको जन्मजयन्तीमा साहित्यसँग सम्बन्धित कार्यक्रम गर्ने, विभिन्न टोल तथा समूहलक्षित तालिमहरूको आयोजना गर्ने, पुस्तक सङ्कलन गर्ने, दसैँमा ज्यष्ठ नागरिकको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्पराको विकास गर्ने र तुलसी विवाहलाई सामाजिक पर्वको रूपमा मनाउने जस्ता कार्य अघि सारेको छ ।

पुस्तकालयलाई सबैको साझा बिसौनी बनाउने अभियानमा लागेको संस्थाका उपाध्यक्ष डा मनोज कँडेलले बताए । ‘जोकोही पनि फुर्सदमा पुस्तकालय पस्ने वातावरण बनाउने प्रयासमा छौँ,’ उनले भने, ‘चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा होस् । सबैलाई पुस्तक पढ्ने र पुस्तकालयप्रति मोह जगाउने हाम्रो लक्ष्य हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -