– विना तामाङ
मकवानपुर । राक्सीराङ गाउँपालिका वडा नं. ५, जुर्लिङ अवस्थित श्री लोकप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत निम्न वर्गीय तथा जेहेन्दार ७९ चेपाङ विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
अमेरिकाको जर्जियामा बसोबास गर्दै आएका गुरुङ दम्पत्ती कर्ण र प्रेमा गुरुङ मार्फत उक्त विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार पोशाक वितरण गरिएको समाजसेवी तथा सहजकर्ता रेखा तामाङ लोप्चनले जानकारी दिइन् ।
गुरुङ दम्पत्तीले सुपुत्रद्वय सलिन गुरुङ र समिन गुरुङको सम्झनामा उनीहरुलाई पोशाक वितरण गरेका हुन् । सोही अवसरमा उनीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रिमाया प्रजालाई सरसफाइको लागि विशेष ध्यान पु¥याउन भन्दै नगद २५ हजार समेत सहयोग गरेका हुन् ।
राजमार्गबाट करिब ७ कि.मी. उत्तरतर्फ रहेको उक्त विद्यालयका सबै विद्यार्थीहरुको अवस्था निकै नाजुक रहेको जानकारी पाएपछि पोशाक वितरण गरिएको समाजसेवी लोप्चनले बताइन् । गोरखा, लमजुङ लगायतका जिल्लाहरुमा दर्जनौं सहयोग जुटाउन समन्वयकारी भूमिका निभाउँदै आएका उनी विपन्न र गरिबका सारथी नै बनेकी छन् ।
लोप्चन युवा संघ नेपालका स्थायी कमिटी केन्द्रीय सदस्य र गोरखा जिल्ला इन्चार्ज समेत हुन् । समाजसेवा सँगसँगै उनको राजनीतिमा पनि सक्रिय सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य राजाराम स्याङतान रहेका थिए । उनले समाजसेवी लोप्चनको कार्य प्रशंसा गर्दै राज्यको ध्यान विकटका ठाउँहरुमा नपुगेको जिकिर गरे । विकटको शैक्षिक अवस्था सुधार्न राज्यले नै पहल गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराज चेपाङ, युवा संघ नेपालका स्थायी कमिटी सदस्य सगुन स्याङतान, नेकपा एकीकृत समाजवादी राक्सिराङ गाउँपालिकाका अध्यक्ष सागर चेपाङ, समाजसेवी रामशरण चेपाङ लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम श्री लोकप्रिय प्राथमिक विद्यालयका प्राचार्य डिच रुम्बाको सभातित्वमा सम्पन्न भएको थियो ।
.