July 20, 2024

‘घरज्वाइँ’ ले चितवनबाट सुरु गर्यो देशव्यापी यात्रा

July 1, 2024

चितवन । नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’को टोलीले यही असार २८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको चितवनबाट पूर्व–पश्चिमको यात्रा सुरू गरेको छ । चलचित्र निर्माण समूहका अनुसार सोमबारदेखि सुरू भएको यात्रा असार २३ गतेसम्म चल्नेछ ।

यात्राका क्रममा विभिन्न जिल्ला पुग्दै गर्दा कहीँ पत्रकार भेटघाट त कहीँ समुदायसँग प्रत्यक्ष भेटघाट गर्दै जाने चलचित्रका निर्माता जनक घर्ती मगरले जानकारी दिए । उनले मगर सुमदायकै कथावस्तुलाई चलचित्रमार्फत बाहिर ल्याउने प्रयास गरिएको बताए ।

आफ्नो जातिको कथामा आधारित चलचित्र भएको हुँदा मगर समुदायको बसोबास रहेका जिल्लाहरूमा समुदायसँग पनि भेटघाट गरेर चलचित्र हेरिदिन आग्रह गरिएको उनले बताए । मगर जातिभित्र चल्ने पारिवारिक संस्कृति ‘घरज्वाइँ’को विषयवस्तुमा केन्द्रित रहेर चलचित्र निर्माण गरिएको उनको भनाइ छ ।

चलचित्रको प्रचारप्रसारको लागि चितवनको मगर समुदायसँग पहिलो भेटघाट गरिएको चलचित्रका कलाकार खड्कबहादुर पुनमगर (खबपु)ले बताए । प्रचारप्रसारको लागि मुख्य कलाकारहरूको उपस्थिति नभए पनि ठाउँठाउँमा कलाकारहरूलाई जोड्दै लैजाने प्रयास गरिएको उनले बताए । चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, मिरूना मगर, बुद्धि तामाङलगायत अन्य चलचित्रमा व्यस्त भइरहेको हुँदा सबैलाई एकसाथ समेट्न नसकिएको उनको भनाइ छ ।

चितवनबाट पश्चिममा नवलपरासी, बुटवल, दाङ, नेपालगञ्जलगायतका क्षेत्र पुगेर पाल्पा, पोखरा हुँदै पुनः चितवन आएर पूर्वको यात्रा गर्ने तयारीमा चलचित्र निर्माण पक्ष सक्रिय रहेको कलाकार खबपुले बताए । ‘मगर जातिको बसोबास रहेका स्थानमा चलचित्रबारे जानकारी गराउँदै थप प्रचारप्रसार गर्ने प्रयास गरेका छौँ,’ उनले भने ।

शिशिर बाङ्देल, राज थापामगर, कविता आलेमगर, पुष्कर गुरूङ, अनु थापा, सुनिल मगर, भोलाराज सापकोटा, विना थापामगर, सुरेश पुन, शिला आले खनाल, विवश बुढामगर, सोनाम लामासमेतको अभिनय रहेको चलचित्र अनिल बुढामगरको लेखन तथा निर्देशनमा बनेको हो ।

पछिल्लो समय नेपाली सिनेजगतमा आदिवासी जनजाति समुदायको संस्कृतिमा आधारित चलचित्रले सफलता प्राप्त गरेको छ । ‘कबड्डी’ चारवटै सिरिज, ‘घामपानी’, ‘साली कसको भेनाको’, ‘नाङ्गो गाउँ’, ‘आप्पा’, ‘जारी’, ‘दयारानी’, ‘गाउँ आएको बाटो’लगायत चर्चामा रहेका यी सबै चलचित्र नेपालको पूर्वदेखि पश्चिमसम्मका आदिवासी जनजाति समुदायको कथावस्तुमा आधारित चलचित्र हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -