July 20, 2024

युरोकप २०२४को फाइनलमा स्पेन

July 10, 2024

काठमाडौं / स्पेन युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो ।

स्पेनका लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सलाई २–१ ले हराएको हो ।

खेलको नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता लामो समय टिकेन ।

२१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

स्पेनन युवा स्टार यामलले १६ वर्ष ३६२ दिन हुँदा गोल गर्दै युरोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए ।

यसअघि स्विट्जरल्याण्डका जोहान भोलनान्थेनले सन् २००४ को युरोमा फ्रान्स विरुद्धनै १८ वर्ष १४१ दिनको हुँदा गोल गरेका थिए ।

चौथोपटक युरो जित्ने लक्ष्यमा रहेको स्पेनले अब नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -