काठमाडौं / स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । स्पेनले इङल्याण्डलाई सोमबार बिहान १२ः४५ बजे सम्पन्न फाइनल खेलमा २–१ गोल अन्तरले पराजित गर्दै युरो कप २०२४ को उपाधि जितेको हो ।
उक्त खेलमा स्पेनका निको विलियम्स र मिकेल ओयारजाबालले एक–एक गोल गरेका हुन् । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै इङल्याण्डका लागि कोल पाल्मरले खेलको ७३औं मिनेटमा एक गोल गरेका थिए । योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ। स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।
इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ । अघिल्लो संस्करणमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।