February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर नगरपालिका पूर्ण खोप सुनिश्चिततामा चितवनमै पहिलो

July 16, 2024

चितवन / रत्ननगर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि र सरकारले तोकेका सबै मापदण्ड पूरा गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

रत्ननगरका १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडास्तरीय स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुकोे उपस्थितिमा पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । सो अवसरमा सबै सरोकावालाहरुले आगामी दिनमा नगरपालिकालाई पूर्ण खोपको अवस्थालाई कायम राख्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय खोप तालिकाअनुसार नगरका १६ वटै वडाका १६ महिनादेखि २३ महिनासम्मका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले बताए ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा कार्यवाहक नगरप्रमुख यादवप्रसाद पाठकले पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गर्न योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै सुनिश्चितता कायम राख्न कुनै पनि बालकालिका खोपबाट वञ्चित हुन नहुने बताए ।

कार्यक्रमका प्रमुखअतिथि जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले राष्ट्रिय खोप तालिकाअनुसार १३ प्रकारका खोपको पूर्ण सुनिश्चितता भएकाले रत्ननगरलाई चितवनमा पहिलो पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गर्न अनुमति प्रदान गरिएको बताए ।

सरकारले विसं २०६९ सालदेखि पूर्ण खोप अभियानका रुपमा सञ्चालन गर्दै आएको र नेपालमा ८० प्रतिशत बालबालिकाले खोप हासिल गरेको र चार प्रतिशत बालबालिका अझै पनि खोपबाट वञ्चित रहेको जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्षहरुको तर्फबाट वडा नं ५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंले रत्ननगरको स्वास्थ्यसेवा अझै परिष्कृत हुनेमा विश्वस्त रहेको बताए । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले गरेका थिए ।

सो अवसरमा १६ वटै वडाका वडास्तरीय खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -