काठमाडौं / त्रिशूलीमा बेपत्ता भएका बसका थप २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । गत असार २८ गते बिहान ३ बजे सिमलतालको पहिरोमा परी बेपत्ता भएका मध्ये २ जनाको शव भारतीय भूमिमा फेला परेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको हो ।
भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा बिहिबार राति करिब साढे ९ बजे २ वटा शव फेला पारेको बताइएको छ । शवको पहिचान हुन बाँकी छ ।
सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिए । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।
लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।
दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।