चितवन / भरतपुर वडा नं. १० सिजी ल्याण्डमार्कस्थित पपुलर युनिसेक्स सैलुनले रक्तदानलगायतका कार्यक्रम गरेर ११ औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा सैलुनले आइतबार विविध कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा सैलुनले ३० जना युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिमको घोषणा गरेको छ ।
सैलुनका सञ्चालक सुलभ सिग्देलले चितवन जिल्लाभरका ३० जना युवाहरुलाई निःशुल्क तालिम दिने बताए । जसमा महिला र पुरुष १५–१५ जना रहनेछन् ।
१८ देखि ३५ वर्ष उमेर समूहका युवाहरु तालिममा सहभागी हुन सक्नेछन् । यसका लागि आवेदन फारम खुला गरिएको र १५ गते अन्तर्वार्ता हुने उनले जानकारी दिए । अन्तवार्ताबाट ३० जना छनौट गरिनेछ । ४५ दिनसम्म उनीहरूलाई दाह्री र कपाल काट्ने तालिम दिइने छ ।
नेपालमा नै केही गर्ने उद्देश्य लिएकाहरुलाई विशेष प्राथमिकता दिइने सञ्चालक सिग्देलले बताए । ’युवाहरुलाई देशमा नै रोजगारको अवस्था सृजना गर्ने र विदेश जानबाट रोक्ने मेरो योजना हो । त्यसैले नेपालमा नै केही गर्न चाहनेलाई प्राथमिकता दिइन्छ’, उनले भने ।
गत वर्ष पनि सैलुनले यसरी नै निःशुल्क तालिम आयोजना गरेको थियो । अहिलेसम्म ४० जना भन्दा बढीलाई निःशुल्क तालिम दिईएको उनले जानकारी दिए ।
सैलुनबाट सःशुल्कसहित ५ हजार एक सयभन्दा बढीले तालिम लिइसकेका छन् । ती मध्ये धेरैले आफ्नै व्यवसाय पनि सुरु गरेका छन् । केहीले विदेश गएर मनग्य आम्दानी पनि गरेका छन् । सिग्देलले नेपालमा नै केही गर्न चाहनेहरुलाई अन्य समयमा पनि विशेष छुट दिइने बताए ।
यस्तै सैलुनले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । उक्त कार्यक्रम सिजी ल्याण्डमार्कको ग्राउण्ड फ्लोरमा भएको थियो । कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेका छन् ।
विदेशमा श्रम बेचेर स्वदेश फर्किएका सिग्देलले २०७० साउन ६ गते पपुलर युनिसेक्स सैलुन स्थापना गरी सञ्चालनमा ल्याएका थिए । अहिले सैलुनमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सैलुनले समय समयमा विद्यालय तथा चोक–चोकमा निःशुल्क कपाल काट्ने सेवा पनि दिँदै आएको छ ।