–बबिलाल तामाङ
चितवन । नृत्य क्षेत्रमा दिवंगत अमर श्रष्टाहरुको सम्झनामा चितवनका कलाकारहरुले दिप प्रज्वलन गरी गुरुपूर्णिमा मनाएको छ ।
भरतपुर २ स्थित नारायणी कला मन्दिर र नृत्य निर्देशक संघ चितवन (डिड्यान)को संयुक्त आयोजनामा उक्त दिप प्रज्वलन कार्यक्रम गरी मनाएको हो ।
भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटले दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष रानाभाटले कला र संस्कृति जगेर्नाका लागि सबै एकजुट हुनुपर्ने बताए । कला संस्कृतिलाई जोगाउन सके मात्र हाम्रो पहिचान रहिरहने उनको भनाइ थियो ।

कला मन्दिरलाई वडाबाट गर्न सकिने सहयोगको लागि आफू प्रतिबद्ध रहेको बताउँदै कला र संस्कृति जोगाउन पुस्तान्तरण आवश्यक रहेको उनले भने ।
स्वर्गीय कलाकारहरु शिव रेग्मी (निर्देशक), कर्मलाल चित्रकार, उपेन्द्र श्रेष्ठ, उमेश अधिकारी, भगवानदास श्रेष्ठ (फिल्म निर्माता)लगायतको तस्विर राखेर श्रद्धासुमन व्यक्त गरिएको नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिए ।
कलाकार चन्द्र घलेद्वारा गुरु वन्दना, भजन प्रस्तुत गरिएको थियो भने तबला वादक श्याम मानन्धरले सहजीकरण गरे । साहित्यकार सरला जोशीले गुरुप्रति समर्पित रही कविता वाचन गरिन् ।
कार्यक्रममा कला मन्दिरका पूर्वअध्यक्षहरु प्रसाद श्रेष्ठ, दिलीप पिया, सहन प्रधान, अमर प्रधान र डिड्यानका पूर्वअध्यक्ष लिलाराज थापामगर, निवर्तमान अध्यक्ष रेनु तामाङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डिड्यानका संस्थापक अध्यक्ष जनार्दन ढकालले स्वागत मन्तव्य दिए । नारायणी कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने संचालन डिड्यानका अध्यक्ष पुष्प श्रेष्ठले गरेका थिए ।