–बबिलाल तामाङ
चितवन । सिमलतालमा दुई वटा बस बगाएको दुई साता बढी भइसकेको छ । तर, राज्यको तर्फबाट हालसम्म गरिएका कुनै पनि प्रयास पूर्णतः सफल हुन सकेको छैन । सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित करिब दुई सय जनशक्ति हरेक दिन नदीमा तैनाथ गरेको बताएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने सिमलतालमा लेदोसहितको पहिरोले दुई बस त्रिशूलीमा खसालिदिँदा ६२ यात्रु बेपत्ता भएका छन् । दुई वटा बसमा गरी ६५ यात्रु सवार हुँदा तीन जना भने सकुशल उत्रिन सफल भएका थिए । बसमा सवारको शव घटनास्थलबाट एक सय किलोमिटरभन्दा पनि परसम्म पु¥याएको पाइएको छ ।
भारतीय सीमा क्षेत्रबाट–समेत शव उद्दार हुँदै आएको छ । तर, घटनास्थलबाट हालसम्म कुनै पनि उपलब्धी हात पारेको छैन । राज्यको सबै संयन्त्र परिचालन गर्दासमेत नदीमा खसेको यात्रुबसको अवस्था अज्ञात छ । नेपाली सुरक्षा निकायबाट मात्रै सम्भव नभएको भन्दै सरकारले भारतबाट पनि गोताखोरसहितको दक्ष प्राविधिक ल्याएर खोजी कार्य थालेको छ । तर, उपलब्धी भने हातमा लायो शून्य ।
भेटिएका शवहरू पनि पुरिएको अवस्थामा भेटिएका छन् । कतिपय शव चिन्न सक्ने अवस्थामा नरहेको हुँदा पहिचान खुल्न सकेको छैन ।
चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भावेश रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधिक टोलीले खोजीकार्य जारी राखेको बताए । उनका अनुसार चितवनको सुरक्षा समितिसँत छलफल गरेर भारतको ‘राष्ट्रिय आपदा मोचन बल (एनडीआरइफ)’ का १२ जनाको प्राविधिक टोली चितवन आइपुगेको हो ।
उनीहरूले पानीभित्रको वस्तु हेर्न मिल्ने सोनार क्यामेरासहितको प्रविधिमार्फत बेपत्ता बस र यात्रु खोजिरहेका छन् । तर, पानी धमिलो हुनुका साथै पानीको गति तीव्र भएको हुँदा खोजीकार्य प्रभावकारी हुन नसकेको सुरक्षा अधिकारीहरूले बताउँदै आएका छन् ।
नेपाल सरकारसँग भएका सबै खालको यन्त्र उपकरण, दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगमार्फत खोजीकार्य जारी राखिएको सशस्त्र प्रहरी बलका डिआइजी गणेश ठाडामगरले बताए ।
‘हामीले सरकारसँग जे जस्तो स्रोत साधन छ, त्यसैको भरतपुर उपयोग गरी खोजी गरिरहेका छौँ,’ उनले भने, ‘तर, कतिपय अवस्थामा गोताखोरलाई नै जोखिम हुने हुँदा त्यस्ता स्थानमा बढी सचेत अपनाउनुपर्ने देखिन्छ ।’