धनगढी / धनगढीको नोभा अस्पतालमा तनाब सिर्जना भएको छ । सामान्य अवस्थामा ल्याइएका १७ वर्षीय नसिब चौधरीको मृत्युको विषयलाई लिएर तनाब भएको हो ।
कञ्चनपुर बेलौरी घर भएका चौधरी अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका हुन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए ।
अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको बताइएको छ । जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो । दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो ।
आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।
अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न न्सकेको बताइएको छ ।