March 19, 2025
- ADVERTISEMENT -

बाघ व्यवस्थापन चुनौतीको विषय

July 31, 2024

हरेक वर्ष जुलाई २९ तारिखका दिन विश्व बाघ दिवस मनाइने गरिन्छ। यस वर्ष बाघ संरक्षणका लागि कदम चाल्ने समय अर्थात् ‘कल फर एक्सन’ भन्ने नाराका साथ बाघ दिवस मनाइएको छ। सन् २०२२ को गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ। यसअघि राष्ट्रिय बाघ गणना २०१८ मा गरिएको थियो। उक्त गणनाअनुसार नेपालमा बाघको संख्या २३५ रहेकोमा ५१ प्रतिशत वृद्धि भई ३५५ पुगेको हो। विश्वमै दुर्भल मानिएको र संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाघको संख्या बढ्नु सुखद पक्षको हो। तथापि पछिल्लो समय बाघ र मानवबीचको द्वन्द्व नियन्त्रण तथा व्यवस्थापनका कार्यक्रम अपेक्षाकृतरुपमा सफल नहुनु अर्को दुखद पक्ष हो। पछिल्ला चार वर्षमा दोब्बर बढीले बाघको संख्या वृद्धि हुँदै गर्दा पछिल्लो ६ वर्षमा देशभर बाघको आक्रमणबाट ६८ जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। आर्थिक वर्ष ००/१ मा १० र २०७९/८० मा बाघको आक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । पाटेबाघ विश्वका १३ देशमा पाइन्छ ।

विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। सो प्रतिबद्धताअनुसार सन् २००९ सम्ममा नेपालमा बाघको संख्या १२१ रहेकोमा झन्डै तेब्बरको संख्यामा बाघको संख्या वृद्धि भएको पाइएको छ। अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा भए पनि बाघको आक्रमणबाट मारिने र घाइते हुने मानिसको संख्या तीव्र हुँदै जानुले बाघको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ। बाघको संख्या बढेसँगै पर्याप्त आहार क्षेत्र र विचरण गर्ने स्थानको अभावमा बाघले मानवबस्तीमै पुगेर स्थानीय बासिन्दालाई आतंकित बनाउँदै आएको छ। विशेषगरी मध्यवर्ती क्षेत्रको आसपासका बस्तीमा पसेर बाघले मानिस र पशुचौपायामाथि आक्रमण गर्ने गरेको पाइएको छ।

वन्यजन्तु संरक्षणसँगै मानव जीवन बचाउने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने भएको छ। नेपाललाई अन्तर ििष्ट्रयस्तरमा परिचित गराउन बाघको संरक्षण महत्त्वपूर्ण छ। बाघ संरक्षणसँगै मानव-वन्यजन्तुबीचको व्यवस्थापन गर्ने विषयमा पनि सरोकारवालाको ध्यान जानुपर्छ। नेपालमा सबैभन्दा बढी बाघ चितवन निकुञ्ज र वरपरका वन क्षेत्रमा १२८ को संख्यामा रहेको छ। यस्तै, बर्दिया निकुञ्ज र वरपरका वन क्षेत्रमा १२५, पर्सा निकुञ्ज र वरपरका वन क्षेत्रमा ४१, बाँके राष्ट्रिय निकुञ्ज र वरपरका वन क्षेत्रमा २५ र शुक्लाफाँटा क्षेत्रमा ३६ वटा वयस्क बाघ रहेका छन् । मानवीय क्षतिका हिसाबले चितवन, बर्दिया र बाँकेका सीमान्तकृत मानिस बाघको आक्रमणमा पर्ने गरेका छन् । गत चार वर्षयताका घटनाक्रमले बाघ व्यवस्थापनमा चुनौती थपिएको छ। मानवीय क्षतिका अधिकांश घटना जंगलभित्र भएका छन्। जंगलमा घाँसदाउरा काट्न जाने, निगुरो टिपेर जीविकोपार्जन गर्ने समुदायका लागि आयआर्जनका प्रभावकारी कार्यक्रम अवलम्बन गर्दै जंगलप्रतिको निर्भरता न्यूनीकरण गर्ने सवालमा सरकारले
ध्यानकेन्द्रित गर्नु जरूरी देखिएको छ।

- ADVERTISEMENT -