चितवन / पानस युवा क्लब र हानामी भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।
सोमबार सम्पन्न सेमिफाइनल खेल जित्दै पानस र बिएफसीले उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको पहिलो सेमिफाइनलमा पानसले माडी ११ विरुद्ध ५(१ को सहज जित निकाल्यो ।
- ADVERTISEMENT -
पानसको जितमा सुमन गुरुङले दुई तथा पदम नेपाली, रोमन थापा र सन्दीपले एक(एक गोल गरे । सुमनले ३७ र ८० औं मिनेटमा गोल गरे । पदमले २२ औं, रोमनले ६१ औं र सन्दीपले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरे । माडीका रितेश क्षेत्रीले ७५ औं मिनेटमा एक मात्र गोल गरे ।
सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा बिएफसीले हर्दी युवा समाजलाई ३–१ ले हरायो । उसको जितमा सुमन आलेले दुई तथा सन्देश श्रेष्ठले एक गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल फर्काए ।
खेलको २७ औं मिनेटमा सुमनको गोलमा बिएफसीले अग्रता लिएको थियो । ५० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले अग्रता दोब्बर बनायो । ५१ औं मिनेटमा हर्दीका सन्तोषले गोल गरे ।
कमजोर प्रदर्शन गरेको हर्दीले उक्त गोलपछि खेलमा फर्किने संकेत गरे पनि बिएफसीले पुनः दबाब बनायो । अतिरिक्त समयको दोस्रो मिनेटमा सन्देशले गोल गरेपछि बिएफसी ३–१ ले विजयी भयो ।
यससँँगै पानस र बिएफसी प्रतियोगितामा दोस्रो पटक आमुने सामुने हुने भएका छन् । यसअघि लिग चरणमा यी दुई टोली भिड्दा पानसले २–० ले बाजी मारेको थियो ।
उपाधि भिडन्त २३ गते बुधबार हुनेछ। विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।