March 15, 2025
- ADVERTISEMENT -

पेरिस ओलम्पिक फाइनल : स्पेन र फ्रान्स भिड्दै

August 6, 2024

काठमाडौं / पेरिस ओलम्पिक २०२४ पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने पक्का भएका छन् ।

सोमबार राति सम्पन्न भएको सेमिफाइनलमा दुई टोलीले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् ।

पेरिसमा जारी पहिलो सेमिफाइनलमा स्पेनले मोरक्कोमाथि २–१ को पुनरागमन जित निकाल्न सफल भयो ।

दोस्रो सेमिफाइनलमा आयोजक फ्रान्सले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई अतिरिक्त समयमा ३–१ हरायो ।

६२औं मिनेटमा महमउद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । तर ८३औं मिनेटमा जिन फिलिप माटेटाले माइकल ओलिसको पासमा फ्रान्सका लागि बराबरी गोल गरे ।

अतिरिक्त समयको दोस्रो मिनेटमै इजिप्टका ओमार फायद रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इजिप्ट दश खेलाडीमा समेटियो । त्यसको फाइदा फ्रान्सले उठायो । फ्रान्सका लागि माटेटाले ९९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को अग्रता दिलाए ।

माइकल ओलिसले १०८औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे । पुरुष फुटबलको स्वर्णका लागि अगष्ट ९ मा फाइनल खेल हुनेछ ।

- ADVERTISEMENT -