September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भाषाको प्रगति भए देशको प्रगति हुन्छ – मुख्यमन्त्री बहादुरसिंह लामा

August 10, 2024

चितवन / नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले ३०औं विश्व आदिवासी दिवस मनाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री लामाले आदिवासी जनजातिको लागि भाषा संरक्षण अति आवश्यक रहेको बताए । देशको प्रगतिमा भाषाले ठूलो अर्थ राख्ने हुँदा जुनसुकै भाषाको पनि संरक्षण गर्न जरूरी रहेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

‘भाषाको संरक्षणमात्रै होइन, कम्तिमा एउटा समुदायले बोलेको भाषा अर्को समुदायले बुझ्न सक्ने बनाउन आवश्यक छ,’ उनले भने, ‘किनकि हामी आदिवासी जनजातिको भाषा गैरआदिवासी जनजातिले नबुझ्दा कति ठाउँको नाम बिग्रिएको छ। कतिको नाम र थर नै बिगारिदिएको छ।’

सरकारी कर्मचारीले तामाङ जातिभित्रको ‘ब्लोन’ थरलाई ‘भ्लोन’ लेखिदिएको उदाहरण दिँदै मुख्यमन्त्री लामाले थपे, ‘यस्ता समस्या त कति छन् कति छन्। हामीले नेपाली शुद्ध बोल्न जानेनौँ भन्दै गर्दा शुद्ध नेपाली बोल्नेहरूले पनि हाम्रो भाषा नबुझ्दा रहेछन् भन्ने दरिलो उदाहरण हो यो।’

भाषिक समस्याकै कारण अझै पनि कतिपय व्यक्तिको थर नै फरक पर्न गएको उनले बताए। ‘त्यसैले बोलेकै आधारमा पनि धेरैलाई उच्चारण बुझ्न सहज होस् भनेर बागमती प्रदेशले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गरेका छौँ,’ उनले भने, ‘यसले आफ्नै भाषामा बुझाउन पाउने सुविधा भएको छ।’

भाषाको महत्त्वबारे सबैलाई बुझाउनको लागि सरकारले ‘मास्टर प्लान’ नै बनाएर काम गर्नुपर्ने देखिएको उनले बताए।

मुख्यमन्त्री लामाले थप प्रसङ्गमा प्रदेशको औचित्य बुझाउने गरी काम गर्नुपर्ने जिम्मेवारी काँधमा आइपुगेको बताए । सङ्घीयता लागू भए पनि धेरैलाई प्रदेश सरकार चाहिँदैन भन्ने भान भएको बताउँदै उनले भने, ‘कम्तिमा मेरो कार्यकालभरमा प्रदेशको आवश्यकता किन पर्छ भन्ने बुझाउने गरी काम गर्ने योजना छ।’

सुशासनलाई प्रत्याभूति दिलाउँदै प्रदेश नै चाहिँदैन भन्नेहरूका लागि पनि उदाहरण बन्ने मौका पाएको उनले बताए।

कार्यक्रममा चितवन जिल्लामा बसोबास गर्दै आएका आदिवासी जनजातिहरूले विभिन्न खालका मौलिक लोक नृत्य प्रस्तुत गरेका थिए। ठाडोभाका, चुड्का, पाङ्दुरे, लाठी नाच, थाली नाचलगायतका लोपोन्मुख लोक नृत्य प्रस्तुत गरेको थियो।

आदिवासी जनजातिका मौलिक लोक संस्कृति बसाइसराइका कारण लोप हुने अवस्थामा आइपुगेपछि यसलाई संरक्षण गर्नको लागि पनि बेलाबेला प्रदर्शन गर्न आवश्यक रहेको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए।

पछिल्लो समय चितवन जिल्ला आदिवासी जनजातिको बसोबासको मुख्य थलो बन्दै गइरहेको छ। विशेष गरी पहाडी जिल्लाबाट बसाइसराइ गरी आउने क्रम बढेसँगै जिल्लामा आदिवासी जनजाति समुदायको सङ्ख्या पनि बढ्दै गएको महासंघका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए।

२०७८ को जनगणनाअनुसार आदिवासी जनजातिभित्रका करिब ४० जातजातिको बसोबास रहेको चितवनमा आदिवासी जनजातिको जनसङ्ख्या तीन लाख ३२ बजार भन्दा बढी छ। त्यसमध्ये हालसम्म साङ्गठनिकरूपमा १७ जाति महासंघमा आवद्ध भएका छन्। बाँकी जातजातिलाई पनि सङ्गठित गराई महासंघलाई थप बलियो बनाउने प्रयास भइरहेको अध्यक्ष दुराले बताए।