– बबिलाल तामाङ
भरतपुर । वि.सं.२०५६ सालमा आदिवासी जनजाति समुदायका मुद्धालाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउने प्रयासस्वरूप ‘नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)को स्थापना भयो । विभिन्न कालखण्ड पार गर्दै हाल आएर सोही संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बनेको छ । तसर्थ फोनिज स्थापना भएको आज २५ वर्ष पुगेको छ । सोही अवसरमा फोनिजको सङ्घीय समितिले विशेष कार्यक्रम आयोजना गरेर फोनिजको स्थापना दिवस मनाएको छ ।
फोनिजका सबै जिल्ला शाखाहरूले विशेष कार्यक्रमसहित स्थापना दिवस मनाउँदै गर्दा चितवन शाखाले पनि ‘आदिवासी जनजातिको आन्दोलन र फोनिजको भूमिका’ विषयमा अन्तक्र्रिया गरेर दिवस मनाएको छ । पछिल्लो पुस्ता सञ्चार क्षेत्रमा जोडिएका सदस्यहरूलाई संस्थाको स्थापनाको उद्देश्यबारे जानकारी गराउनको लागि मुख्य कार्यक्रम नै अन्तक्र्रिया राखिएको फोनिज चितवनका कार्यवाहक अध्यक्ष तुलमान गुरूङले बताए ।
- ADVERTISEMENT -
भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा एकसाथ २५ वटा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष एवम् संरक्षक सन्तकुमार चौधरी र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) चितवनका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार समितिका संयोजक पदमबहादुुर गुरूङलाई मुख्य वक्ता बनाइएको थियो ।
दुवै वक्ताहरूले आदिवासी जनजातिको आन्दोलन र मुख्य विषय सार्वजनिक गर्नको लागि आदिवासी जनजाति पत्रकारहरूको साझा संस्थाको स्थापना भएपछि धेरै ठूलो काम गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेफिन चितवनका सल्लाहकार संयोजक पदमबहादुर गुरूङले सञ्चारमाध्यममा आदिवासी जनजाति पत्रकारहरूको पहुँच नहुँदासम्म कुनै पनि आन्दोलनले सार्थकता पाउन नसकेको बताए । ‘जब आदिवासी जनजाति पत्रकारहरूको उदय भयो, त्यसपछि बल्ल हाम्रा कुरा सञ्चारमाध्यमले भन्न थाल्यो,’ उनले भने, ‘अहिले फोनिजका साथीहरू थपिँदै गए । प्रविधिको विकासले पनि फड्को मार्दै गयो । त्यसकारण धेरै सहज भएको छ ।’
फोनिजका सङ्घीय सदस्यसमेत रहेका चितवन शाखाका संस्थापक अध्यक्ष एवम् संरक्षक चौधरीले भने फोनिजकै उपस्थिति बाक्लिँदै जाँदा देशभरका सबैजसो सञ्चारमाध्यम पहिलेको तुलनामा समावेशी बन्दै गएको प्रतिकृया दिए । ‘हुनुपर्ने जति समावेशी हुन सकेको छैन । तैपनि पहिलेभन्दा अहिले धेरै राम्रो छ,’ उनले भने, ‘त्यसकारण हाम्रो उपस्थिति जति बलियो हुँदै गयो, आदिवासी जनजातिका मुद्धा पनि त्यत्तिकै बलियो बन्दै जान्छ ।’
तर, पछिल्लो समय नेपाली सञ्चारजगतको लागि पत्रकार तथा सञ्चारकर्मी टिकाउने चुनौती थपिँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । सञ्चारमाध्यम नै धरासयी हुँदै गएपछि त्यसमा कार्यरत पत्रकार तथा सञ्चारकर्मी बिस्तारै पेशाबाट पलायन हुन थालेको उनको भनाइ छ ।
चितवनमा २०६७ सालमा स्थापना भएको फोनिज हालसम्म आइपुग्दा आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्न सक्षम भएको भन्दै उनले खुसी व्यक्त गरे ।